सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने

शनिबार, २३ मङ्सिर २०८०, १६ : ३०
शनिबार, २३ मङ्सिर २०८०

जानकी । बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ ।  बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई दृष्टिगत गरी आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको हो । भूूकम्पका कारण घाइतेको उपचारका लागि भेरी अस्पताललाई विशेष सेवा प्रदायक अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरिएको छ । 

साथै नेपालगञ्ज मेडिकल कलेजलगायत सबै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुुभयो । घाइतेका लागि रगतको अभाव हुन नदिन सबै स्वयम्सेवकलाई रक्तदानका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।  भूूकम्पबाट प्रभावित क्षेत्र तथा मानवीय सहयोगका लागि अस्पतालहरुमा समन्वय गर्न स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर एवं सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने निर्णय भएको पोख्रेलले बताए ।

यस्तै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका तर्फबाट तत्काल राहतस्वरुप रु चार लाख बराबरको खाद्यान्न र त्रिपाल, झूल, पिफर्मलगायत एक सयजनाका परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टोली परिचालन गर्ने निर्णय गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।

यस्तै, कोहलपुर नगरपालिकाका तर्फवाट तत्काल राहतस्वरुप रु दुई लाख बरावरको खाद्यान्न र औषधी उपलब्ध गराइने भएको छ । राप्तीसोनारी गाँउपालिकाका तर्फबाट रु एक लाख बराबरको औषधी सामग्री र रु ५० हजार बराबरको खाद्यान्न र एक चिकित्सकसहितको टोली परिचालन गरिने भएको छ । यस्तै,

राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने भएको छ  । खजुरा गाउँपालिकाका तर्फबाट रु तीन लाख बरावरको औषधि सहयोग गरिने भएको छ ।  नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा छ सय थान कम्बल, त्रिपाल र पिफर्म उपलबध गराउने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल र ५० थान कम्बल उपलब्ध गराइने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप