बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कृषि क्षेत्रको विकासमा अघि बढ्दै बेथानचोक

मङ्गलबार, १८ वैशाख २०८१, १२ : २०
मङ्गलबार, १८ वैशाख २०८१

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले चालु आर्थिक वर्षमा ८२४ गाई भैँसीलाई कृत्रिम गर्भाधान (एआइ) गराएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत गाई भैँसीको निःशुल्क कृत्रिम गर्भाधान (एआइ) गराएको हो ।

पालिकाको पशुपन्क्षी विकास शाखाको तथ्याङ्क अनुसार पालिकाका सबै वडाहरूमा निःशुल्क एआइ सेवा सञ्चालन गरिरहेको र उक्त कार्यक्रम अन्तर्गत ८२४ वटा गाई भैँसीमा निःशुल्क कृत्रिम गर्भाधान सेवा सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।

पालिकाले पशु बिमा गरेबापत कुल विमांक रकमको ६० प्रतिशत रकम कृषकलाई अनुदान दिँदै आएको छ भने पालिकाको सबै वडाका कृषकहरूलाई निःशुल्क रूपमा विभिन्न रोग विरुद्धको औषधि वितरण गरी कृषकहरूको आर्थिक जोखिमलाई न्यूनीकरणका लागि घरदैलो उपचार सेवा प्रदान गर्दै आएको छ ।

पालिकाले प्रस्तुत गरेको विभिन्न कार्यक्रम कार्यान्वयनको लागि चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल बजेटको १२ करोड ६९ लाख ३ सय ५५ रुपैयाँ खर्च गरेको छ । कुल ८३ करोड रुपैयाँको बजेट ल्याएको सो पालिकाले आर्थिक वर्ष २०८०–०८१ को कात्तिक २० गतेसम्म १४ करोड ५४ लाख ३५ हजार रुपैयाँ बजेट निकासा दिइसकेको छ । स्थानीय तहले पाएको २२ वटा अधिकार अनुसार नै नागरिकको माग अनुसार विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए ।

अध्यक्ष अधिकारीले गाउँपालिकालाई हरियाली कायम राख्न र उत्पादनमा जोड्न सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गरिने बताए । सामुदायिक वनका झाडी फडानी गरी फलफूलका बिरुवा र जडीबुटी रोप्ने कार्यलाई अगाडि बढाइने र उक्त कार्यले उत्पादन बढ्नुका साथै प्राकृतिक सौन्दर्यता काय हुनुको साथै बाँदर नियन्त्रणमा समेत टेवा पुग्ने उनले बताए । 

शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, युवा लक्षित कार्यक्रमलाई विशेष जोड दिदैं पालिकालाई एग्रो टुरिजम हबका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए । दिगो विकास लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधिहरू एकजुट भएर चुनौतीहरूका बिचबाट योजनाहरू कार्यान्वयनमा अघि बढिरहेको उनको भनाई छ ।

उनका अनुसार पालिकाले लघु उद्यम कार्यक्रम अन्तर्गत ६ वटा वडाका १३ जनालाई व्यावसायिक तरकारी खेती तालिम र ४६ जनालाई व्यावसायिक बाख्रा पालन तथा कुखुरा पालन सम्बन्धी सीप विकाश तालिममा प्रदान गरिएको छ । वडा नम्बर ५ का १० जना युवालाई ट्याक्टर मर्मत तालिम, ७ जना युवाहरूलाई बेकरी सम्बन्धी तालिम २२ जनालाई सिलाई कटिङ सम्बन्धी तालिम प्रदान गरिएको छ ।  

त्यस्तै सामाजिक विकास तर्फ न्यून दरबन्दी रहेको १२ वटा विद्यालयमा शिक्षक नियुक्त गरिएको छ । स्वास्थ्य तर्फ सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत ४ पटक नियमित गर्भ जाँच गर्ने महिलाहरूलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने गरिएको अध्यक्ष अधिकारीले बताए । उक्त कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ६२ जना सुत्केरी महिलाहरूले संस्थागत सुत्केरी गराइ नियमित गर्भ जाँच गरेबापत उक्त सेवा लिएको उनले बताए ।

उनका अनुसार महिलाहरूको स्वास्थ्य अवस्था मध्यनजर गर्दै पालिकाको अगुवाइमा पाठेघर सम्बन्धी स्क्रिनिङ क्याम्प सञ्चालन गरी ४५३ जनालाई सेवा दिएको र सुगरका २८८ र प्रेसरका १६५ जना बिरामीको समेत उपचार गरिएको छ । पालिकाका ४१ जनालाई विपन्न नागरिक औषधी उपचार स्वास्थ्य संस्थाहरूमा सिफारिस गरिएको र ३५ जनालाई मासिक ५ हजार रुपैयाँका दरले औषधी उपचार खर्च भुक्तानी गरिएको उनले बताए ।

न्यायिक समितिमा जग्गा विवादको उजुरी बढ्दो
बेथानचोकमा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ५१ वटा उजुरीहरु परेका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ५१ वटा उजुरीहरू दर्ता भएका छन् ।

दर्ता भएका उजुरीमध्ये साँध सिमाना र जग्गा सम्बन्धी विवादका उजुरीहरु बढ्दो संख्यामा रहेको छ । यस वर्षमा दर्ता भएका ५१ वटा उजुरी मध्ये २४ वटा जग्गा सम्बन्धी रहेका छन् । न्यायिक समितिमा दर्ता भएका उजुरीमध्ये गाली गलौजका ९ वटा, पालनपोषण सम्बन्धी ६ वटा, ज्याला मजदुरी नदिएको २ वटा, आर्थिक लेनदेनका ४ वटा, कुटपिट सम्बन्धी एक र अन्य प्रकृतिका ५ वटा हेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप