आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा यू–२१ फुटबल प्रतियोगिता हुने, विजेतालाई  १ लाख ११ हजार पुरस्कार

मङ्गलबार, २६ मङ्सिर २०८०, १९ : ३५
मङ्गलबार, २६ मङ्सिर २०८०

हेटौंडा । मकवानपुरको हेटौंडामा आगामी मंसिर ५ गतेदेखि यू २१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरका पूर्व ए डिभिजन खेलाडी सुविन घिमिरेका पिता स्वर्गीय सुदर्शन घिमिरे स्मृति यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । हेटौंडा सिटी कलेज मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना गरिनेछ ।

एफसी मुण्डियालको आयोजनामा आगामी मंसिर ५ देखि १३ गतेसम्म प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा २१ वर्ष मुनिका खेलाडी मात्रै सहभागी हुन पाउने छन् । उक्त प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाउने कार्यक्रम संयोजक सुदिप सिंह ठकुरीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा मकवानपुर ११ र जिल्ला बाहिरका ३ वटा सहित १४ टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा मकवानपुरका न्यू डाँफे युथ क्लब, एफसी रिगल हेटौंडा रिर्सोट मकवानपुर, पदमपोखरी फुटबल एकेडेमी हेटौंडा, निल गगन युवा क्लब हेटौंडा, सहिद स्मृति क्लब बागमती गाउँपालिका मकवानपुर, हेटौंडा फुटबल एकेडेमी हेटौंडा, थाहा नगरपालिका मकवानपुर, रियल स्टार क्लब हेटौंडा, कमाने फुटबल एकेडेमी हेटौंडा, नागसोती युथ क्लब हेटौंडा, एफसी मुण्डियाल हेटौंडा, हिली फिल्डर्स एफसी गोरखा, नव जन जागृति युवा क्बल सिमरा र वीरगञ्ज स्पोर्स एकेडेमी पर्साको सहभागिता रहने छ ।

खेलाडी उत्पादनमा जोड् दिने उद्देश्य अनुरुप उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको तयारीलाई तीव्र पारिएको उनको भनाई छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको संयोजक ठकुरीले बताए । प्रतियोगिताको लागि प्रथम पुरस्कार घिमिरे परिवारबाटै सहयोग प्राप्त भएको छ भने प्रतियोगिताको सह–प्रायोजक दाजुभाई स्वीट्स सहित अन्य विभिन्न व्यक्ति तथा संघसंस्था रहेका छन् ।

२१ वर्ष मुनीको यस प्रतियोगितालाई आगामी वर्षहरु पनि निरन्तरता दिँदै जाने योजना रहेको संयोजक ठकुरीले बताए । खेलबाट बचेको रकम जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग गरिने आयोजकले जानकारी दिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप