आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना, ३ महिनामा पनि बनेन कार्यविधि

शुक्रबार, १४ वैशाख २०८१, ०८ : ५५
शुक्रबार, १४ वैशाख २०८१

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-०८१ मा १० वटा प्राङ्गारिक मल कारखाना निर्माण गर्ने तयारी गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम अघि सारेको हो ।

प्रदेश सरकारले प्रदेशसभा तर्फको ६६ वटा निर्वाचन क्षेत्रमा एक-एक वटा प्राङ्गारिक मल कारखाना खोल्ने योजना बनाएको भए पनि पहिलो चरणमा चालु आर्थिक वर्षमा १० वटा कारखाना स्थापना गर्ने तयारी गरेको हो । प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि नीति तथा कार्यक्रम र बजेटमा नै समावेश गरी अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार चालु आर्थिक वर्षमा १० वटा मल कारखाना स्थापनाका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सोही बजेट मार्फत प्रदेशका १० स्थानमा ५० लाख रुपैयाँ लागतमा कारखाना स्थापनको तयारी भइरहेको उनले बताए । स्थानीय तहहरूको समन्वयमा प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना निर्माण गरिने उनले बताए ।

रासायनिक मलले वातावरणमा नकारात्मक असर, उत्पादन नहुने र भोकमरी कै अवस्था हुने खतरा बढ्दै गएकाले प्रदेश सरकारले उक्त योजना अघि सारेको मन्त्रालयका सूचना अधिकारी अधिकारीले बताए । रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने उनको भनाई छ । स्थानीय तहहरूसँग समन्वय गरेर आर्थिक वर्ष २०८०–०८१ मै प्राङ्गारिक मल कारखाना बनाउने गरी हाल कार्यविधि निर्माणको चरणमा रहेको उनको भनाई छ । 

तर आर्थिक वर्ष सुरु भएको ३ महिनासम्म पनि सो कार्यक्रम कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्धारणका लागि बनाइने कार्यविधि निर्माण हुन सकेको छैन । ३ महिनासम्म पनि कार्यविधि निर्माण नहुँदा चालु आर्थिक वर्षमा निर्माण गर्ने गरी अघि बढाइएको उक्त योजना कार्यान्वयनमा ढिलाइ हुने भएको छ । मन्त्रालयले आर्थिक वर्षको सुरुवातदेखि नै कार्यविधि निर्माणको तयारी गरे पनि पूरा हुन सकेको छैन ।

‘हाल कार्यविधि निर्माणको चरणमा रहेको छ । कार्यविधिको ड्राफ्ट तयार भएर मन्त्रालयमा छलफलको चरणमा रहेको छ । अन्तिम रूप दिने तयारीमा रहेको उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयबाट कार्यविधि स्वीकृत गरेपछि भने काम अघि बढ्नेछ ।’ उनले भने, ‘पहिलो चरणमा १० वटा मल कारखाना स्थापना गर्ने योजना मन्त्रालयले बनाएको छ । बजेट पनि सोही अनुसार लाग्ने अनुमान मन्त्रालयको रहेको छ । सोही अनुसार प्रदेश सकारले चालु आर्थिक वर्षको बजेटमा एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम कार्यान्वयनका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ लागतमा सो कार्यक्रम अन्तर्गत मल कारखाना खेल्ने सरकारको तयारी हो । मल कारखानाका अन्य विषयहरू कार्यविधिले स्पष्ट पार्नेछ ।’

उनका अनुसार कार्यविधि निर्माण भइसकेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सहमति लिनु पर्ने हुन्छ । अर्थ मन्त्रालयको सहमति प्राप्त भएको खण्डमा मात्र थप प्रक्रियाहरू अघि बढ्ने उनले बताए । अर्थ मन्त्रालयको सहमति पश्चात् भने मल कारखानाका लागि सम्भाव्यता अध्ययनको काम अघि बढाउने उनको भनाई छ ।

उपयुक्त स्थानहरू छनौट गर्ने र ती स्थानहरूमा मल कारखाना खोल्ने विषयमा थप कामहरू गर्ने मन्त्रालयको योजना रहेको सूचना अधिकारी अधिकारीले बताए । पहिलो चरणमा स्थापना गरिने मल कारखानाहरू निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा खोल्ने गरी कार्यविधिले निर्धारण गर्ने उनले बताए ।

स्थान छनौट पश्चात् मल कारखाना स्थापनाको लागि डिपिआर निर्माण गरेर सोही अनुकूल ठेक्का आह्वान गरी काम अघि बढाउने मन्त्रालयले जनाएको छ । उक्त कार्यविधि अनुसार मल कारखाना स्थापनाका लागि तयार पारेको  डिपिआरले निर्धारण गरेको लागत, उत्पादन क्षमता लगायतका विषयहरू निर्धारण हुने उनले बताए ।

प्रदेश सरकारले पहिलो चरणमा १० वटा मल कारखाना स्थापनाको तयारी गरे पनि क्रमिक रूपमा अन्य स्थानमा पनि सो कार्यक्रम अन्तर्गत प्राङ्गारिक मल कारखाना स्थापना गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने योजना बनाएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप