आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेकर्डहरू नतमस्तक बनेको म्याक्सवेलको शानदार इनिङ्स (सूची)

शुक्रबार, १४ वैशाख २०८१, १० : ३३
शुक्रबार, १४ वैशाख २०८१

मुम्बई । ग्लेन म्यासवेलको शानदार दोहोरो शतकको मद्दतले अस्ट्रेलियाले अफगानिस्तानलाई हराउँदै भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । ९१ रनमा ७ विकेट गुमाएर दयनीय अवस्थामा रहेको पाँचपटकको विश्वविजेता टोलीलाई म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै जीतसम्म डोर्‍याएका हुन् ।

घाइते भएर पनि मैदानमा टिकेर उनले आक्रामक खेलको नमुना प्रस्तुत गर्दै २१ चौका र १० छक्का हिर्काए । म्याक्सवेलको यस पालीसामु जीतको नजिक पुगेर पनि अफगानिस्तानले हारको स्वाद चाख्न पर्‍यो भने खेलमा थुप्रै रेकर्डहरू तोडिए ।

तथ्याङ्कमा हेर्नुहोस् म्याक्सवेलको पाली  :

  • २०१  :  ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्ध बनाएको स्कोर । उनी एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाका लागि दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान हुन् । यसअघि सन् २०११ मा शेन वाटसनले बनाएको १ सय ८५ रन अस्ट्रेलियाका लागि कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा उच्च स्कोर थियो ।
  • १ : एकदिवसीय खेलमा रन पछ्याउने क्रममा दोहोरो शतक बनाउने म्याक्सवेल पहिलो ब्याट्सम्यान हुन् । यसअघि पाकिस्तानका फखर जमानले सन् २०२१ दक्षिण अफ्रिकाविरुद्ध १ सय ९३ रन बनाएका थिए ।
  • १ : एकदिवसीय क्रिकेटको इतिहासमा नम्बर ३ वा सोभन्दा तल ब्याटिङ गरेर दोहोरो शतक बनाउने म्याक्सवेल पहिलो खेलाडी हुन् । यसअघि चार्ल्स कोभेन्ट्रीले सन् २००९ मा बंगलादेशविरुद्ध बनाएको १ सय ९४ रन कुनै पनि ओपनरबाहेकको खेलाडीले बनाएको उच्च स्कोर थियो । लिस्ट ए मा पनि शीर्ष चार ब्याट्सम्यानबाहेक कसैले दोहोरो शतक बनाउन सकेका थिएनन् ।
  • ३ : पुरुष एकदिवसीय विश्वकपमा दोहोरो शतक बनाउने उनी तेस्रो खेलाडी हुन् । यसअघि सन् २०१५ मा वेस्ट इन्डिजका क्रिस गेलले जिम्बाब्वेविरुद्ध २ सय १९ रन बनाएका थिए भने सोही विश्वकपमा नै न्युजिल्याण्डका मार्टिन गुप्टिलले वेस्ट इन्डिजविरुद्ध २ सय ३७ रनको पाली खेलेका थिए ।
  • २०२ : म्याक्सवेल र प्याट कमिन्सबिचको साझेदारी । एकदिवसीय क्रिकेटमा सात वा सोभन्दा तल कुनै पनि विकेटका लागि भएको सबैभन्दा ठुलो साझेदारी हो । यसअघि सन् २०१५ मा इंग्ल्याण्डका जोस बटलर र आदिल रसिदले न्युजिल्याण्डविरुद्ध सातौँ विकेटका लागि १ सय ७७ रनको साझेदारी गरेका थिए ।
  • १२८ : दोहोरो शतक बनाउन म्याक्सवेललाई लागेको बलको सङ्ख्या । एकदिवसीय क्रिकेटको इतिहासमा यो दोस्रो चाँडो दोहोरो शतक हो । गत वर्ष भारतका इशान किसनले बंगलादेशविरुद्ध १ सय २६ बलमा दोहोरो शतक पुरा गरेका थिए ।
  • २०२  : सातौँ विकेट पतन भएपछि अस्ट्रेलियाले जोडेको रनको सङ्ख्या । एकदिवसीय पालीमा कुनै पनि टोलीले सातौँ विकेट खसेपछि जोडेको सबैभन्दा धेरै रन हो । यसअघि सन् २००७ मा अफ्रिका ११ ले एसिया ११ विरुद्ध १ सय ९६ रन जोडेको थियो ।
  • १७९  : कमिन्ससँग २०२ रनको आठौँ विकेटको साझेदारीमा म्याक्सवेलले गरेको योगदान । यस साझेदारीमा कमिन्सले ६८ बलको सामना गर्दै १२ रन बनाए । यसमा ११ रन अतिरिक्त रनका रूपमा आएको थियो । यो साझेदारीमा म्याक्सवेलको योगदान ८८.६१ प्रतिशत रहेको थियो । शतकीय साझेदारीमा कुनै पनि ब्याट्सम्यानले गरेको सबैभन्दा धेरै योगदान हो । यसअघि म्याक्सवेलले नयाँ दिल्लीमा नेदरल्याण्ड्सविरुद्ध कमिन्ससँग नै १ सय ३ रनको साझेदारी गर्दा ८८.३५ प्रतिशत योगदान दिएका थिए । उनले १ सय ३ रनमध्ये ९१ बनाएका थिए ।
  • १७७ : म्याक्सवेलले बनाएको २०१ रन र अस्ट्रेलियाका लागि दोस्रो धरै रन बनाउने मिचेल मार्स (२४ रन) बिच रनको अन्तर । यसअघि दुईपटक मात्र दुई शीर्ष रन बनाउने खेलाडीबिच योभन्दा धेरै रनको अन्तर बनेको थियो । सन् २०१४ मा रोहित शर्माले श्रीलंकाविरुद्ध २ सय ६४ रन बनाउँदा दुई शीर्ष रन बनाउने खेलाडीबिचको अन्तर १ सय ९८ थियो भने सन् २०१५ मा गुप्टिलले वेस्ट इन्डिजविरुद्ध २ सय ३७ र बनाउँदा यो अन्तर १ सय ९५ रनको थियो ।
  • ०.२  :  ईएसपीएन क्रिकइन्फोका अनुसार २६.५ ओभरपछि अस्ट्रेलियाको खेलमा जीतको सम्भावनाको प्रतिशत । त्यतिबेला अस्ट्रेलियाले ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । टोलीलाई ६.७३ रन प्रति ओभरले थप १ सय ५६ रन चाहिएको थियो ।
  • २९२  : अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध पछ्याएको लक्ष्य । एकदिवसीय विश्वकपमा टोलीले पछ्याएको सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि सन् १९९६ मा चेन्नईमा अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्ध २ सय ८७ रनको लक्ष्य पछ्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप