आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वेथिति

एनआईसीको एटीएमबाटै ग्राहकको पैसा गायब, ग्राहकले झगडा गरेपछि २ महिनापछि मात्रै फिर्ता

एटीएमबाट ढिलो पैसा आयो, अर्कैले टिपेर हिँड्यो : बैंक
शुक्रबार, १४ वैशाख २०८१, १२ : ३७
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । एनआईसी एसिया बैंकको एटीएमबाट एक ग्राहकको रकम गायब बनाएको पाइएको छ । एनआईसी एसिया बैंकको इमाडोलमा रहेको एटीएमबाट ग्राहकले पैसा झिक्न खोजे पनि एटीएमले पैसा नदिई काटेको पाइएको हो । 

महेश गौतम नाम गरेका एक ग्राहकका अनुसार उनले गत सेप्टेम्बर १ अर्थात् भदौ १५ गते इमाडोलमा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट पैसा झिक्ने कोसिस गरेका थिए । प्रभु बैंकमा खोलिएको खाता र प्रभु बैंककै एटीएम कार्ड प्रयोग गरी उनले एनआईसी एसिया बैंकको एटीएम बुथबाट रकम निकाल्ने कोसिस गरेका थिए । 

इमाडोल, कमलपोखरीमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथमा उनले भदौ १५गते राती ८ बजेर २ मिनेट जाँदा पैसा निकाल्न खोज्छन् । तर एटीएम बुथबाट रकम आउँदैन, एउटा चिट मात्रै आउँछ । तर खाताबाट ब्यालेन्स काटिन्छ । खाताबाट ब्यालेन्स काटिएको तर रकम बाहिर नआएपछि उनले एटीएम बुथ वरिपरि सेक्युरिटी गार्ड छन् कि भनेर खोजिन्छ । गार्ड नभेटेपछि भोलि पैसा फिर्ता आउला नि त भनेर ग्राहक अर्को बैंकमा जान्छन् । एभरेष्ट बैंकको एटीएमबाट रकम निकालेर ग्राहक घर जान्छन् । 

२४ घण्टामा रकम फिर्ता होला भने पनि रकम फिर्ता नभएपछि भदौ १७ गते ग्राहक महेश गौतमले आफ्नो खाता रहेको बैंक प्रभु बैंकमा निवेदन दिन्छन् । त्यसपछि प्रभु बैंकले एनआईसी बैंकसँग कुराकानी गर्छ । 

तर एनआईसी बैंकले प्रभु बैंकलाई के भनेर जवाफ दिन्छ भने ‘ग्राहकले पैसा झिक्दा पैसा भुईँमा खसेको थियो, ग्राहक गएपछि अर्कै मान्छेले टिपेर हिँड्यो, फिर्ता दिन सकिँदैन ।’

प्रभु बैंकले पनि एनआईसी एसिया बैंकको त्यही जवाफ ग्राहकलाई सुनायो । तर ग्राहक एनआईसी बैंकको जवाफमा सन्तुष्ट भएनन् । आफूले पैसा झिक्दा नआएको पैसा पछि एटीएमबाट आएर अर्कैले टिपेको हुनै नसक्ने भन्दै ग्राहकले एटीएम बुथको सिसीटिभी फुटेज हेर्ने र अरू कसैले टिपेर गएको पुष्टि हुने अवस्था आए दाबी नगर्ने बताए । एटीएमबाट हराएको मात्रै पाँच हजार रुपैयाँ भए पनि ग्राहक गौतम भने ‘यो मेरो मात्रै समस्या होइन, म जस्ता सैयौँको समस्या’ हो भन्दै प्रमाण सङ्कलनमा लागिरहे ।

ग्राहकले सिसिटिभी फुटेज हेर्न चाहेकाले सिसिटिभी फुटेज पठाइदिन भन्दै प्रभु बैंकले एनआईसी एसिया बैंकसँग सिसिटिभी फुटेज माग गर्‍यो । तर एनआईसी एसिया बैंकले सिसिटिभी फुटेज दिएन । बरु कुनै मानिस कागजजस्तो केही टिप्न लागेको फोटो पनि प्रभु बैंकलाई पठाइदियो । 

तर जिम्मेवार ग्राहक एनआईसी एसिया बैंकको जवाफमा सन्तुष्ट भएनन् र सिसिटिभी फुटेज नै मागिरहे । प्रभु बैंकले सोही कुरा एनआईसी एसिया बैंकलाई जानकारी गराएपछि एनआईसी एसिया बैंकले सिसिटिभी फुटेज पठाउन नसक्ने तर ग्राहकलाई एनआईसी बैंकमै पठाए फुटेज देखाउन सक्ने भन्यो । त्यसपछि ग्राहक एनआईसी एसिया बैंकमै गए । 

तर एनआईसी एसिया बैंकले पनि ग्राहकलाई सिसिटिभी फुटेज देखाएन । बरु बारम्बार तपाइँले पैसा झिक्दा रकम भुईँमा खसेको र तपाईँ गएपछि अरू कसैले टिपेर लगेको जवाफ मात्रै दिइरह्यो । अनि रकम फिर्ता गर्न नसक्ने बतायो ।

त्यसपछि महेश गौतम एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालयमा गएर सबै बेलिबिस्तार लगाउँछन् । त्यसपछि बैंकका जिम्मेवार कर्मचारीले सम्बन्धित विभागका कर्मचारीलाई पनि बोलाउँछन् र छलफल गर्छन् । 

छलफलमा बैंकका कर्मचारी, एटीएम हेर्ने कर्मचारी र सिसिटिभी फुटेज हेर्ने कर्मचारीले भुईँमा पैसा खसेको नदेखिएको, एटीएम भेन्डरसँग कुराकारी भइरहेको, एनआईसी एसिया बैंककै एटीएम सिस्टममा समस्या देखिएको तर तेस्रो व्यक्तिले भुइँबाट पैसा टिपेको जस्तो देखिएको भन्ने जानकारी दिइन्छ । तर त्यति हुँदा पनि सिसिटिभी फुटेज देखाउन नमिल्ने भन्दै ग्राहकलाई सिसिटिभी फुटेज देखाइँदैन । साथै पैसा फिताृ हुन्छ कि हुँदैन भन्ने स्पष्ट जवाफ पनि दिइँदैन । 

त्यसपछि ग्राहक महेश गौतमले बैंकका म्यानेज्मेण्टमा रहेकालाई प्रश्न गर्छन् कि समस्या ग्राहकको हो कि एटीएम मेसिनको ? ग्राहकले आफ्नो रकम गुमाएको वा काटिएको छ तर पैसा पाएको छैन, त्यो पैसा कहाँ गयो भनेर सोध्न, खोजी गर्न र अरू कसैले टिपेको भए सिसिटिभी फुटेज हेर्न पाउने कि नपाउने ? बैंकले नै सिसिटिभी फुटेज हेर्नका लागि निवेदन माग गर्छ तर फुटेज नदेखाउनुको कारण के हो भनेर सोध्छन् ? अनि एटीएम बुथबाट पैसा कसरी भुईँमा खस्छ भनेर सोध्छन् , एनआईसी एसिया बैंकले भने कुनै जवाफ दिँदैन । 

यसरी कात्तिक २१ गते मंगलबार एनआईसी एसिया बैंककै केन्द्रीय कार्यालयमै गएर यी प्रश्न गर्दै यो कस्तो ठगी हो भनेपछि त्यसको ५ घण्टामा ग्राहकको खातामा हराएको रकम आइपुग्छ । एनआईसी एसिया बैंकको एटीएमबाट रकम निकाल्दा पैसा काटिएपनि नआएको पैसा २ महिना ६ दिनपछि बल्ल ग्राहकको खातामा फिर्ता आउँछ, त्यो पनि कैयन् हन्डर खाई दुख पाएपछि ।

यही विषयमा मंगलबार साँझ पीडित ग्राहक महेश गौतमले फेसबुकमा लामो स्टाटस लेखेर जानकारी गराएका छन् र यसलाई एनआईसी एसिया बैंकको ठगी हो भनेका छन् । 

साथै नबोल्दा वा यसरी सानो रकम भए पनि सोधी खोजी नगर्दा बैंकबाट ठगिने र बोलेर झगडा गरेपछि मात्रै पैसा फिर्ता हुनु गलत रहेको पीडित गौतमले आफ्नो फेसबुकमा लेखेका छन् । आफू जस्तै अन्य व्यक्तिहरु पनि पीडित भएको हुनसक्ने भन्दै बैंकको ठगीविरुद्ध बोल्न भनेका छन् ।

Mahesh Gautam Status

बैंक भन्छ, एटीएम बुथको कमजोरीमा ग्राहक पीडित हुनुहुँदैन

यता एनआईसी एसिया बैंकले भने एटीएम बुथ वा एटीएम भेण्डरको कमजोरीमा ग्राहक पीडित हुन नहुने भन्दै ग्राहकको पैसा फिर्ता गरिएको बताएको छ । बैंकका सूचना अधिकारी अर्जुन खनियाका अनुसार महेश गौतमको केसमा थप अनुसन्धान भइरहेको भए पनि महेशले पैसा नलगेको देखिएकाले उनकै खातामा फिर्ता पठाइएको बताए । 

पैसा फिर्ता आउनमा ढिलाइ हुनुमा आफ्नो बैंकको नभई प्रभु बैंककै कमजोरी भएको र प्रभु बैंकबाट सूचना वा जानकारी आउन पनि ढिलो भएको बताए । 

खनियाँले रातोपाटीसँग भने, ‘हामीले ढिलो गरेको होइन, प्रभु बैंककै कारण ढिलाइ भएको हो । हामीले त्यहाँबाट सूचना वा उजुरी आएको एक महिनाभित्रै हामीले सेटल गरेका छौँ ।’

खनियाका अनुसार एटीएमको सिस्टममा एटीएमवाला बैंकले आफ्नो रिकन्सिलेसन हेर्नुपर्ने र त्यसमा ब्यालेन्ससिट मिलेमा थप केही नगर्ने गरिएको बताए । उनले भने, ‘ एटीएममा कति ब्यालेन्स थियो, कति विथड्रयल भयो र कति बाँकी छ भन्ने हिसाब मिलेपछि सबै ठिक छ भन्ने हुन्छ । त्यस्तो अवस्थामा यदि कसैले मैले पैसा पाइन भनेर क्लेम गरेपनि यो क्लेम अनर गर्न सकिँदैन भन्छ ।’

खनियाले अगाडि भने, ‘सिस्टमले झिकेकै देखायो । रिकन्सिलेसन नमिलेको अवस्थामा बढीमा १० दिनमै फिर्ता हुन्छ । तर यहाँ रिकन्सिलेसन पनि मिलेकै देखियो । तर जब सिसिटिभी फुटेज हेरियो, महेशजीले रकम झिकेर लैजान नपाउनुभएको देखियो । अब ग्राहकलाई त सिस्टमको आइडेन्टीफाई भएपछि दिन्छु भन्न त मिलेन नि । त्यही भएर पैसा दिएको हो । यो केसमा फर्दर आइडेन्टिफिकेसन भइसकेको छैन । हामी भेण्डरसँग कुरा गर्दै छौँ । त्यसपछि के भएको हो थप भन्न सकिएला ।’

खनियाका अनुसार कहिलेकहिले सिस्टमको वा मेसिनको फल्टको कारण पनि यस्तो हुने गरेको छ । यदि कसैले एटीएमबाट पैसा झिक्दा पैसा भुईँमा खस्यो भने पनि त्यो ग्राहकको नभएर एटीएमकै गल्ती हुने खनियाले बताए । अनि निश्चित समयसम्म पैसा झिकेन भने पनि एटीएम बुथले नै रकम तान्ने भएकाले भुईँमा नझर्ने बताए । तर मेसिनबाट पैसा तानेर ग्राहकले खसालेमा भने ग्राहक नै जिम्मेवार रहने भन्दै महेशको केसमा ग्राहकको गल्ती नभएको खनियाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप