आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीको ५ मन्त्रालयका कर्मचारी दरबन्दी तेरिज स्वीकृत

भ्रमण वर्ष २०२४ घोषणा गरिने
शुक्रबार, २६ माघ २०८०, १७ : २२
शुक्रबार, २६ माघ २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको कर्मचारी तेरिज स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।  

बैठकले जस अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ३१७ जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ४८ जना, संस्कृत पर्यटन तथा सहकारी मन्त्रालय १०३ जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५८३ जना र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय ३४६ जनाको दरबन्दी तेरिज स्वीकृत गरिएको उनले बताए ।

यसअघि गत असोज १५ मा बसेको मन्त्रिपरिषद् बैठकले ६ मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको थियो । प्रदेश सरकार स्थापना पश्चात् निर्माण भएका विभिन्न २१ वटा निकायको अस्थायी दरबन्दीलाई स्थायी गर्ने प्रक्रिया अघि बढाउन कर्मचारीहरूको दरबन्दी तेरिज स्वीकृत गरेको उनले बताए । प्रदेशमा रहेका अस्थायी दरबन्दीहरू प्रदेश किताब खानामा दर्ता भई स्थायी रूपमा पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले काम गर्ने उनको भनाइ छ । प्रदेश संरचनालाई थप सशक्त बनाउन उक्त काम महत्त्वपूर्ण हुने उनले बताए ।

बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको छ । उक्त विषयको आन्तरिक तयारी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई तोकिएको उनले बताए । पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गरिएको छ ।  

त्यस्तै उपसभामुख अप्सरा चापागाईँको अस्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेश आज्ञा (भिसा) सिफारिस गर्ने निर्णय गरेको छ । उक्त सिफारिसका आधारमा संघीय सरकारले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाउने मन्त्री श्रेष्ठले बताए ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको कार्यालय हेटौँडाको सबलीकरणका लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयका लागि इन्धन सुविधामा २ लाख ५० हजार रुपैयाँ, कर्मचारीको क्षमता अभिवृद्धि तालिमका लागि १ लाख ५० हजार रुपैयाँ, आन्तरिक तथा अन्तर प्रदेश अवलोकन भ्रमण कार्यक्रम खर्चका लागि ६ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप