आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको विवाद मिलाउन पाँच पदाधिकारी एक ठाउँमा

विशेष छानबिन समिति गठन गर्न माग
शनिबार, १५ वैशाख २०८१, १० : २७
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्रको विवाद मिलाउन पाँच जना पदाधिकारीले पहलकदमी थालेका छन् । 

गैरआवासीय नेपालीहरूको हक हित र संरक्षण साथै समृद्ध नेपालको साझा सपनाको लागि एनआरएनए एकजुट हुनुको विकल्प नभएको भन्दै उपाध्यक्ष द्वय राजु रेग्मी, डा केशव पौडेल, महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष तिलक गैरेले विवाद मिलाउन संयुक्तरुपमा आह्वान गरेका हुन् । 

उनीहरुले बुधबार जारी गरेको एक सार्वजनिक आह्वानमा दुवै पक्षलाई वार्तामा ल्याउने र निर्वाचनमा देखिएका त्रुटि र आशङ्काको निराकरणका लागि सर्वपक्षीय सहमति तथा परराष्ट्र मन्त्रालयको सुपरिवेक्षणमा विशेष छानबिन समिति गठन गर्न माग गरिएको छ । उक्त समिति मार्फत आएको सत्य तथ्य पश्चात् एकताको सन्देश सहित एक साझा संस्थाको रूपमा अगाडि बढिनुपर्ने उनीहरूको धारणा छ । 

‘हामी सबैको प्रयासमा यो कठिन अवस्थालाई सामान्य अवस्थामा आए पश्चात् एकताको सन्देश सहित आधिकारिक छानबिन समितिको निर्णयलाई सर्वोपरि मान्य हुने गरी सबैले यस आह्वानलाई पूर्ण सहयोग गर्नुहुने छ भन्ने निवेदन गर्न चाहान्छौं’, पाँच पदाधिकारीले भनेका छन् । 

सङ्घको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान विश्वका ५९ देशबाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भए पश्चात् निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचनको नतिजामा केही उम्मेदबारहरुको मतपरिमाण र नतिजा प्रकाशनमा त्रुटि देखिएपछि सवैमा एक प्रकारको आशङ्का र केही फरक दृष्टिकोणहरु आएको सार्वजनिक आह्वानमा उल्लेख छ ।

संस्था रुपान्तरण र आम सहभागिताको पहिलो प्रयासमा  अनलाइन र प्रत्यक्ष रूपमा भएको निर्वाचनमा  पूर्णरुपमा विश्वसनीयता नदेखिनु पक्कै पनि राम्रो पक्ष नभएको उनीहरूको भनाइ छ । 

‘निर्वाचन पश्चताको नतिजा र निर्वाचन आयोगले गरेको प्रारम्भिक घोषणामा देखिएका त्रुटि र त्यस पश्चात् उत्पन्न आशङ्का र विवादपछि उक्त निर्वाचन परिणामलाई निर्वाचनमा सहभागी उम्मेदवारहरुबाट नै निर्वाचन वैधताको प्रश्न उठाई असहमति जनाइरहेको अवस्थामा एक पक्षबाट शपथ ग्रहण गरिसकेको र असहमत पक्षबाट अर्को समानान्तर कमिटी गठन प्रक्रिया अगाडि बढाइरहेको यो असहज  परिस्थितिले एनआरएनलाई एकताबद्ध  गर्नु भन्दा पनि थप विभाजनतर्फ अगाडि बढाइरहेको परिस्थिति छ’, संयुक्त आह्वानमा भनिएको छ ।  

यस कठिन अवस्थामा निर्वाचित भएर पनि  शपथ लिन बाँकी पदाधिकारीको पहलमा यो अन्तर विवाद र अन्योलको अवस्थालाई निराकरण गरी सहकार्य र एकतामा जोड दिन यस्तो आह्वान गरिएको उपमहासचिव सोम सापकोटाले जानकारी दिए । 

‘सङ्घभित्र विसंगति र अनुशासनहीनता बढिरहेको सन्दर्भमा सबै समस्याको निराकरणका लागि परराष्ट्र मन्त्रालयको निगरानीमा विशेष छानबिन समिति बनाउँदै सत्य तथ्य पत्ता लगाएर साझा एनअराएनए बनाउन लाग्नुपर्छ’, सापकोटाले भने, ‘सबै विधिमा हिँड्ने वातावरण बनाउनुपर्छ ।’ 

उनले संस्था विश्वभरका साझा नेपालीहरूको भएकाले कमिटीमा भएका सीमित व्यक्तिहरूको अडानको भरमा चलाउन नमिल्ने पनि बताए । यसका लागि सबै पक्ष गम्भीर बन्दै वर्तमान समस्याको समाधानमा केन्द्रित हुनुपर्ने उनको धारणा छ । 

निर्वाचनका क्रममा केही कमीकमजोरी भएको खण्डमा समाधान खोजिनुपर्नेमा जोड दिँदै उनले आफूहरूको भविभावकीय संस्था परराष्ट्र भएको र सो निकायसहित  संघका पूर्वअध्यक्षहरुले पनि निकासका लागि पहलकदमी लिनुपर्ने धारणा राखे । 

सार्वजनिक आह्वानमा पनि समस्या समाधानको पक्षमा रही दुवै पक्षलाई वार्तामा ल्याउन, निर्वाचनमा देखिएका त्रुटि र आशङ्काको निराकरणका लागि सर्वपक्षीय सहमतिमा विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव गरिएको छ । निर्वाचित पाँच जना पदाधिकारी संस्थाभित्र प्रभावशाली मानिन्छन् भने उनीहरूको पहल कदमीले सकारात्मक नतिजा निस्कन सक्ने विश्वास गरिएको छ । आह्वान गर्नेमध्येका कतार निवासी राज रेग्मी र बेलायत निवासी रोजिना प्रधान राई एनआरएनएको भूकम्प पीडितलाई राहत वितरण कार्यक्रममा प्रभावित क्षेत्रसम्म पुगेका थिए ।

एनआरएनएको अक्टोबरमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसीले धाँधली गरेको आरोप लगाउँदै आरके शर्माको नेतृत्वमा असन्तुष्ट पक्षले अर्को कमिटी गठन गरेको छ । सो कमिटी घोषणापछि एनआरएनएभित्र विवादले चरम रूप लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप