सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिना अनुमति सञ्चालित बिग हस्पिटल सिलबन्दी

शनिबार, २७ माघ २०८०, १९ : ३६
शनिबार, २७ माघ २०८०

विराटनगर । अनुमति बेगर सञ्चालन भएको विराटनगर–७ स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु सम्मिलित टोलीले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल सिलबन्दी गरेको हो ।

१५ शय्याको उक्त हस्पिटल एक वर्षदेखि बिना दर्ता सञ्चालनमा थियो । अनुगमन टोलीले हस्पिटलको काउन्टर, ल्याब, आकस्मिक कक्ष, ओपीडी र प्रशासन शाखामा सिलबन्दी गरेको हो ।

स्थानीय तह स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७४ अनुसार १५ शय्यासम्मको अस्पताललाई स्थानीय सरकारले अनुमति दिने गरेको छ । तर, बिग हस्पिटलका सञ्चालकहरुले अटेर गरी लामो समयदेखि दर्ता बिना नै सञ्चालन गरिरहेको पाइएको विराटनगर महागनरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

दर्ता प्रक्रिया र आवश्यक मापदण्ड पूरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्न पाइने उनले बताए । अस्पतालमा भर्ना भएका १७ जना बिरामीलाई दर्ता प्रक्रियामा रहेको हस्पिटलमा २४ घण्टाभित्र रेफर गर्न पनि अनुगमन टोलीले निर्देशन दिएको छ ।

नयाँ आएका बिरामी भर्ना नलिन र दर्ता प्रक्रिया पूरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।

सञ्चारकर्मीलाई दुर्व्यवहार गर्ने हस्पिटलका कर्मचारी पक्राउ

यसैबिच हस्पिटल सिलबन्दी गरेको समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि हातपात गर्ने हस्पिटलका कर्मचारी रोशन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर–९ का ३३ वर्षीय यादवलाई प्रहरीले आजै पक्राउ गरेको हो । पक्राउ परेका यादवले सञ्चारकर्मीहरु हुसेन शेख, नविन कर्ण विरेन्द्र कुमार साह र सोनुकुमार दासलाई दुर्व्यवहार गरेका थिए ।

उनीहरुको सञ्चार उपकरण खोसेर धाक धम्की पनि दिएको सञ्चारकर्मी हुसेन शेखले बताए । पक्राउ परेका यादवविरुद्ध किटानी जाहेरी दिइएको छ ।

हस्पिटलका कर्मचारी यादवलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिने मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

यसैबिच सञ्चारकर्मीहरु विरुद्ध दुर्व्यवहार गर्ने हस्पिटलका कर्मचारीविरुद्ध कडा कारबाही गर्न पत्रकार सम्बद्ध संघ संगठनहरुले माग राखेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङसहित प्रेस सेन्टर मोरङ, प्रेस युनियन मोरङले विज्ञप्ति जारी गरी सञ्चारकर्मीलाई दुर्व्यवहार गर्ने हस्पिटलका कर्मचारी र सञ्चालकहरुलाई कारबाहीको माग राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप