आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’मा डा.पन्त चयन

आइतबार, १६ वैशाख २०८१, १७ : ३०
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियाका तर्फबाट नेपालका रसायनशास्त्री प्राडा हेमराज पन्त चयन भएका छन् । आजीवन सदस्यसरहका हैसियतले प्राडा पन्तले अन्तर्राष्ट्रिस्तरको सो संस्थाको प्राज्ञिकसभामा प्रतिनिधित्व गरी चुन्ने र चुनिने अवसर पाउने भएका छन् । सो संस्थामा हाल करिब एक हजार चार सय प्राज्ञ सदस्य रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका केमिकल इञ्जिनियरिङ विभागका प्रमुख प्राडा पन्तले आफ्नो क्षेत्रमा गरेका प्रकाशन र अध्ययन–अनुसन्धानसमेतको मूल्याङ्कनका आधारमा अल्पविकसित देशका तर्फबाट प्राज्ञका रूपमा उनी चयन भएका हुन् ।

पन्त नेपाल प्राध्यापक सङ्घ, पुल्चोक क्याम्पस एकाइको सभापति पनि हुन् । यसअघि नेपालबाट प्रा डा दयानन्द बज्राचार्य, प्राडा पिके झा, प्राडा विशालनाथ उप्रेती र प्राडा विजया पन्त ट्वासको प्राज्ञमा चुनिइसकेका छन् ।

प्राडा पन्तले नेपालको तर्फबाट प्राप्त यस किसिमको महत्वपूर्ण जिम्मेवारीले विज्ञान–प्रविधि क्षेत्रको विकास र प्रोत्साहनमा सहयोग पुग्ने बताए । इटलीमा मुख्यालय रहेको उक्त संस्था सन् १९८३ मा विज्ञान र इञ्जिनियरिङ क्षेत्रमा ज्ञान र सीप आदानप्रदान गर्ने लक्ष्यका साथ विकसित मुलुकका तर्फबाट पाकिस्तानका भौतिकशास्त्री नोबेल पुरस्कार विजेता अब्दुस सलमको नेतृत्वमा स्थापित भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप