पृथ्वी राजमार्ग : पोखराको सेतीमा १ अर्बको लागतमा बन्ने सिग्नेचर पुल शिलान्यास
पोखरा । पोखरा मुग्लिङ राजमार्ग अन्तर्गत पोखराको सेतीमा सिग्नेचर पुल शिलान्यास भएको छ । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले पुल निर्माणको शिलान्यास गरेका हुन् ।
पुल निर्माणको कार्य २०८१ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । अहिले भइरहेको पुलको दायाँबायाँ एक–एक वटा पुल निर्माण हुनेछ ।
पुल बनाउन कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ लाग्नेछ । पोखरा मुग्लिङ सडक स्तरोन्नति अन्तर्गत यो पुल निर्माण हुन लागेको हो ।
पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल सम्पन्न गर्न निर्देशन दिए । मन्त्रालयले पूरा साथ दिने भन्दै उनले पुल समयमा सक्न अनिवार्य रहेको बताए ।
पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनको भनाई छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सबै खाले स्थानीय अवरोधहरूको समाधान महानगरले गर्ने प्रतिबद्धता जनाए ।