बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा आउँदै

बुधबार, १९ वैशाख २०८१, ०६ : ३१
बुधबार, १९ वैशाख २०८१

काठमाडौं । आजदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउँदै छ । माथिल्लो मुस्ताङका दुई स्थानीयहरुलाई लक्षित गरी  आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने लागेका हुन् । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन् । 

चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले  पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।  

 नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ । नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ ।

अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रवेश अनुमतिपत्रका आधारमा कोरला नाकादेखि ३० किलोमिटर चीनको भू–भाग सम्म पुगेर जुनसुकै समयमा व्यावसायिक कारोबार गर्न पाउने बताए ।

कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । 

नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलोक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप