आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उर्लाबारी आगलागी : केही घाइतेको अवस्था गम्भीर

बुधबार, १९ वैशाख २०८१, ११ : ३४
बुधबार, १९ वैशाख २०८१

विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी घाइते भएका २८ जनामध्ये केहीको अवस्था गम्भीर देखिएको छ । 

प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले दिएको विवरण अनुसार घाइतेहरूमध्ये विराटनगरको आर्या न्युरो अस्पतालमा रिद्दीकिरण राई र कुमार तामाङको आइसियुमा राखेर उपचार भइरहेको छ । तामाङको अवस्था गम्भीर रहेको बताइएको छ । सोही अस्पतालमा सलिम मन्सुरी, दिलकुमार आचार्य, चुणामणि प्रधान रहेका छन् । 

उनीहरूमध्ये तीनलाई डिस्चार्ज गरिने र दुई जनालाई विराटनगर अस्पतालमा लगिने बताइएको छ । यस्तै विराटनगर अस्पतालमा दिनेश शर्मा, शिवकुमार विक, दीपेन्द्र कार्की, सुमन चौधरी, रामेश्वर मरिचको, विशाल बस्नेत, कौशल गुरुङको उपचार भइरहेको छ । जसमध्ये चौधरीलाई विराटनगर बाहिर लानुपर्ने अवस्था रहेको बताइएको छ । 

विराटनगरको रेडप्लस अस्पतालमा नेत्र भण्डारी, तारामणि लिम्बू र राजन लिम्बूको उपचार भइरहेको  छ । उनीहरूमध्ये तारामणि लिम्बूको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई तत्कालै विराटनगर अस्पताल लाने तयारी गरिएको छ । 

आगलागीमा परी प्रहरीतर्फ एक जना असई, एक जना हबलदार, दुई जना जवान घाइते भएका छन् । अन्य २४ जना सर्वसाधारण घाइते भएको मोरङ प्रहरीका प्रवत्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

केही घाइतेहरूको झापाको बीएमसी, दमकको लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ । स्थानीय दीपक कार्कीको घर रहेको सनु पसलमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यसबाट बाटोमा हिँडिरहेकाहरू समेत घाइते भएको दाहालले बताए । ‘घाइतेहरूमध्ये कसै–कसैको ५० प्रतिशतसम्म शरीर जलेको छ,’ दाहालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप