बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
समाचार

भुक्तानी नपाएका कारण उखु किसानको चाडपर्व खल्लो

सोमबार, २४ वैशाख २०८१, १६ : ३८
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । नवपरासीका किसानको दसैँ, तिहारमात्रै होइन, छठ पर्व पनि खल्लो हुने भएको छ । चिनी मिललाई उखु बेचेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि भुक्तानी नपाएका कारण किसानको चाडपर्व खल्लो भएको हो ।
नवलपरासीका उखु किसान प्रमोद केवटले भने, ‘कसोकसो सापटी लिएर चाडपर्व मनाएँ तर आगामी दिन कसरी चल्ने हो, थाहा छैन ।’

त्यहाँका किसानले उखु मिलसँग करिब १८ करोड रकम लिन बाँकी छ तर मिल मालिकले आजभोलि भन्दै टार्दै आएको राष्ट्रिय कृषि श्रमिक संघ नेपालका महासचिव गोपाल यादवले बताए ।

असारभित्र चिनी मिलले किसानको सम्पूर्ण रकम दिइसक्नुपर्ने थियो तर कात्तिक बित्न लाग्दासमेत रकम दिन अनाकानी गरेको उनले बताए ।

‘छठपछि मिल पुनः सञ्चालन गर्ने भनेको छ तर किसानको बक्यौता रकम दिन चाहेको छैन,’ महासचिव यादवले भने, ‘छोराछोरीको पढाइ, चाडपर्व, खेती किसानलगायत सम्पूर्ण व्यवहार त्यसैबाट चल्छ तर दसैँ, तिहार, छठ जस्तो पर्वमा पनि रकम नदिएपछि विचार गर्नुस् हाम्रो चाडपर्व कस्तो भएको होला ?’

उखु मिलले सुरुमा प्रतिक्विन्टल ५२० रुपैयाँमा उखु खरिद गरेकोमा सरकारले समर्थन मूल्य ५४० कायम गरेपछि प्रति क्विन्टल २० रुपैयाँ किसानले थप पाउनुपर्ने थियो । तर उक्त रकमका साथै सरकारले अनुदानमा दिने ७० रुपैयाँसमेत पाउन नसकेको किसानको गुनासो छ ।

लुम्बिनी सुगर मिलले तीन लाख क्विन्टल, इन्दिरा सुगर मिलले सात लाख क्विन्टल र बागमती खर्साल सुगर मिलले ११ लाख क्विन्टल उखुको भुक्तानी गर्न बाँकी छ ।

पर्तापुरका किसान प्रमोद केवटले भने, ‘भुक्तानी नै नदिइकन मिल सञ्चालन गर्ने तयारी भइरहेको छ, त्यहाँ उखु दिनैपर्छ, त्यो हाम्रो बाध्यता हो र त्यही बाध्यताको फाइदा मिल मालिकले उठाइरहेका छन् ।’

उखु नदिने हो भने खेतमा अरु बाली लगाउन गाह्रो हुने र उखुसमेत सुक्ने भएकाले किसाहरु उधारोमै उखु बेच्न बाध्य हुन्छन् ।

पर्तापुर र सुस्ता गाउँपालिकाका करिब १० हजार किसानले भुक्तानीबाट बञ्चित रहेको केवटले बताए । ‘अहिले उखु हटाएर गहुँ, तरकारी तथा दलहन बाली लगाउने बेला भएको छ, सबैलाई खेत खाली गर्ने हतार छ तर मिल मालिकले रकम दिएको छैन, बिउ, मलका लागि त तत्कालै पैसा चाहिन्छ तर त्यो सम्भावना देखिएको छैन,’ उनले भने ।

संघका महासचिव यादवले छठपछि मिल सञ्चालन हुने लगभग निश्चित रहेको तर सरकारले हालसम्म उखुको समर्थन मूल्य नतोकेको बताए । उनले भने, ‘त्यसले झन् अन्योल बढाएको छ, मिल मालिकले मनपरी मूल्यमा उखु लिनेछन् र पछि भुक्तानी गर्न आनाकानी गर्छन् ।’

अघिल्लो वर्ष समर्थन मूल्य तोक्न ढिला हुँदा चिनी मिलले ५२० रुपैयाँ प्रतिक्विन्टलका दरले उखु लिन थालिसकेका थिए । तर समर्थन मूल्य ५४० रुपैयाँ तोकिएको तर चिनी मिलले बाँकी २० रुपैयाँ प्रतिक्विन्टलका दरले रकम दिन अझै आनाकानी गरिरहेको उनको भनाइ छ । यसपटक पनि त्यस्तै हुने सम्भावना बढेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप