सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गर्मीमा आँखासम्बन्धी रोगबाट यसरी बच्नुस्

बुधबार, २१ चैत २०७४, १० : ४१
बुधबार, २१ चैत २०७४

मौसम परिवर्तन हँुदा हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । यो मौसम परिवर्तनसँगै हाम्रो महत्वपूर्ण अङ्ग आँखामा पनि विभिन्न समस्याहरू देखापर्ने गरेका छन् ।   

डाक्टर परास पंजियारका अनुसार यो समयमा हाम्रो आँखामा देखिने समस्या भनेको आँखा चिलाउने, आँखा पाक्ने, रातोहुने, घाममा हेर्न नहुने, आँशु आउने र बिझाउने समस्याहरू देखा पर्छन् । यस्ता समस्या एलर्जी, भाइरल र ब्याक्टेरियाको कारण हुन्छ ।’

आँखाको समस्याको समयमा उपचार नगराए ज्योति नै गुम्नसक्छ । गर्मी मौसममा आँखामा देखिने समस्या र बच्ने उपाएको बारेमा नेत्र चिकित्सक पारस पंजियारको सुझावलाई यहाँ समेटेका छौं ।

आँखा पाक्ने रोग

गर्मीको समयमा आँखा पाक्ने रोगले धेरैलाई सताउने गरेको छ ।  आँखा पाक्ने रोग सबै मौसममा लाग्ने रोग हो । आँखा पाक्ने लक्षण भनेको बिरामीलाई आँखामा अफ्ठ्यारो महसुस हुनु, आँखाको वरिपरि सुन्निनु, आँखा रातो हुनु, रातोसँगै आँखाबाट चिप्रा आउनु, उज्यालोमा हेर्न गाह्रो हुनुजस्ता आँखा पाक्ने लक्षणहरू हुन् ।

यो रोग एक एउटा आँखाबाट सुरु हुन्छ । त्यसपछि अर्काे आँखामा सर्दै जान्छ र सरसफाइ नहुँदा, सीधा आँखामा हेरिरह्यो भने एक व्यक्तिबाट अर्काे व्यक्तिमा पनि सर्दै जान्छ । यसरी एकदेखि अर्काे व्यक्तिमा सर्दै जाँदा यो रोगले माहमारीको रूप नै लिएको हुन्छ ।

–आँखा पाकेको रोग लागेको छ भने आँखा चलाएपछि साबुन पानीले हात धुनुपर्छ । 

—हातलाई बेला–बेलामा सफा गर्ने, औषधि राख्नुभन्दा पहिला र पछि पनि साबुन पानीले हात पखाल्ने ।

—रोगीले प्रयोग गर्दै आएको टवेल तथा कपडाहरू अरूलाई प्रयोग गर्न नदिने ।


 

आँखा पोल्ने 

गर्मी समयमा आँखा पोल्ने समस्या पनि हुन्छ । यो समस्या आँखामा आँशुको मात्र कम भएको कारण हुने पंजियार बताउँछन् । आँखामा आँशुको मात्र कम भएको खण्डमा औषधि मार्फत आँशु थप्नुपर्ने काम गर्नुपर्छ । निन्द्रा नपुगेको अवस्थामा पनि आँखा पोल्ने समस्या हुन्छ ।  आँखा पोल्ने समस्या भएको बिरामीले पनि घाम र धुवाँ धुलोमा नहिँड्दा नै राम्रो हुन्छ । हिँड्नु परेको खण्डमा चस्मा प्रयोग गर्नुहोस् । आँखा पोल्ने समस्या बढीजसो आँखामा सुख्खापन धेरै भएर नै हो । अर्काे कुरा काठमाडौं उपत्यकामा धुँवाधुलो धेरै भएको कारण पनि आँखा पोल्ने समस्या भइरहेको छ । यसका लागि पनि चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्ने आइसले सेक्दा पनि केही हदसम्म कम हुन्छ ।

आँखा चिलाउने 
गर्मीको समयमा आँखा चिलाउने एउटा रोगजस्तै हो । तपार्इंको आँखामा यो के कारणले भएको हो भन्ने कुराको बारेमा जान्नको लागि भने आँखा परीक्षण गर्दा राम्रो हुन्छ । तर आँखा चिलाउने समस्या धुवाँ, धुलो, गर्मी र धेरै हावा चल्दा पनि हुन्छ । आँखा चिलाउँदा आँखामा आशु आउने आँखा रातो हुने जस्ता समस्या देखा पर्छन् । यसको उपचारका लागि भने तपार्इंको आँखामा एलर्जी नै भएको हो भन्ने प्रमाणित भएपछि मात्रै औषधि चलाउनु राम्रो हुन्छ । आँखा चिलाउने समस्या चिसो मौसम र पानी परेको समयमा केहीहदसम्म कम भएको महशुस हुन्छ । आँखामा आउने एलर्जीबाट जोगिनका लागि बाहिर हिँड्डुल गर्दा चस्माको अनिवार्य प्रयोग गर्नुपर्छ । आँखाको हेरचाह गर्ने र आँखालाई चिसो आइसले सेक्दा पनि आँखा चिलाउने समस्या केही हदसम्म कम हुन्छ । 

आँखामा पानी नछ्याप्नुस 
आँखामा धुलो पस्दा होस् या पखाल्दा होस हामी बेस्सरी पानी छ्याप्छांै । तर आँखामा पानी छ्याप्ने काम गलत हो । आँखामा पानी छ्याप्दा आँखाका कर्नियामा चोटपटक लाग्ने र घाउ हुन सक्ने सम्भावना हुन्छ ।
यस्तै धेरै पानी छेप्दा पानी सँगसँगै आँशु पनि बगेर जान्छ  । आँशुले प्रोटेक्सन गर्ने ब्याक्टेरिया भाइरसहरूबाट बचाउने काम गर्छ त्यसैले सकेसम्म आँखालाई बिस्तारै पखाल्दा राम्रो हुन्छ । 

 बिहान र बेलुका एक–एक पटक सफा पानीले बिस्तारै सफा गर्दा राम्रो हुन्छ । 

बच्ने उपाय 

सिजनल रूपमा आँखामा देखिने समस्यालाई शतप्रतिशत समाधान गर्न नसके पनि केही हदसम्म व्यक्ति आफैले ध्यान दिन सकेको खण्डमा आँखामा लाग्ने रोगबाट भने अवश्य बच्न सकिन्छ । जसको लागि व्यक्ति आफैले 

—धुलो धुँवाबाट बच्ने 

— बाहिर निस्कँदा चस्माको प्रयोग अनिवार्य गर्ने 

—आँखामा समस्या देखेको खण्डमा विभिन्न मेडिकलको औषधि लगाउनेभन्दा पनि चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्ने ।

— आँखालाई पनि शरीरको अन्य अङ्ग जसरी नै सरसफाइ गर्ने । 

(डाक्टर पारस पंजियार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ग्रिनसिटी अस्पतालमा कार्यरत छन् ।)


 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप