आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषि

सुक्खा क्षेत्रका लागि ६० थरी धानको परीक्षण गरिँदै

छरुवा धान प्रविधिमा ५० प्रतिशत कम पानी खपत हुने दाबी
मङ्गलबार, २५ वैशाख २०८१, ११ : २७
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । सुक्खा क्षेत्रलाई मध्यनजर गर्दै कृषि र वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेज (बर्दिबास कृषि कलेज) ले ६० थरी धानको परीक्षण गर्दैछ ।

मधेस प्रदेश अन्तर्गत महोत्तरी जिल्लास्थित सो कलेजले सुक्खा क्षेत्रलाई सुहाउने उपयुक्त धानको जात सिफारिसका लागि गत असारदेखि अनुसन्धान सुरु गरेको हो । पछिल्लो समय वातावरणीय प्रभावका कारण पानीको मुहान सुक्दै गएको छ । बर्दिबास क्षेत्र वरपर सुक्खा र सिँचाइ सुविधाको पहुँच नभएकाले किसानले धान खेती गर्न नसकेको कलेजका प्रिन्सिपल अभिषेक श्रेष्ठले बताए ।

‘जलवायु परिवर्तनसँगै पानीको मुहान पनि सुक्दैछन्,’ उनले भने, ‘सिँचाइका लागि पानी पर्याप्त छैन, यहाँका किसानलाई धान खेती गर्न समस्या छ ।’

सुक्खा तथा बाढीको प्रकोपबाट धान खेती बचाउन यहाँका किसानले खौर प्रविधिबाट खेती गर्दै आएका छन् । तर यो प्रविधिबाट मनग्य धान उत्पादन हुन नसकेको श्रेष्ठले बताए ।

‘किसानले धान उत्पादन गर्न नसकेको समस्यालाई मध्यनजर गर्दै हाम्रो कलेजले छरुवा प्रविधिबाट सुक्खा सहने जातहरुको परीक्षण गरिरहेको छ,’ उनले भने, ‘परीक्षणमा ६० वटा धानको जात छ ।’

छरुवा धान प्रविधिमा ५० प्रतिशत कम पानी खपत

छरुवा प्रविधिबाट गरिने धान खेतीमा ५० प्रतिशत कम पानी खपत हुन्छ । ‘सुक्खा सहने धानलाई पानीको आवश्यकता अरु धानभन्दा कम लाग्ने गर्छ,’ उनले भने, ‘यसले गर्दा थोरै पानीको प्रयोग गरेर धान उत्पादन गर्न सकिनेछ ।’

उनका अनुसार परीक्षणबाट आएको नतिजाका आधारमा धानको जात आगामी वर्ष बर्दिबासको किसानको खेतमा मात्रै परीक्षण गरिने छ । परीक्षण सफल भएमा अन्य किसानलाई क्षेत्र अनुसार सुक्खा सहने धानको जात वितरण गरिने छ ।

सुक्खा जातको धान परीक्षणमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, (हर्दिनाथ) र इरी नेपालले सहयोग गरेको छ ।

नार्कले सिफरिस गरेको धान बाली

नार्कले २०२४ देखि २०७८ सालको बिचमा ४७ थरी धान सिफरिस गरेको छ । चार थरी चैते र ४३ थरी बर्खे धान गरी ४७ वटा धानको जात सिफारिस गरेको हो ।

नार्कले चैते धानका रुपमा ४ वटा जात सिफारिस गरेको छ । चैते २, चैते ६, हर्दिनाथ १ र चैते ५ सिफारिस गरेको हो । यी धान २०४४ देखि २०७४ सालको बिचमा सिफारिस गरिएको नार्कले जनाएको छ ।

चार वाटै धान एक सय २० देखि एक सय २५ दिनमा तयार हुन्छ । यसको उत्पादन क्षमता प्रतिहेक्टर ४ देखि करिब ५ मेट्रिक टन छ ।

नार्कले ४३ वटा बर्खे धान सिफारिस गरेको छ । यी धानबाली २०२४ देखि २०७८ सालको बिचमा सिफरिस गरिएको नार्कले जनाएको छ ।

मिथिला, खुमल, लल्का बास्मती, खुमल–१०, ताईचुङ्ग, सावित्री, खुमल–४, मकवानपुर–१, राधा–४, घैया–३, हर्दिनाथ–४ लगायत ४३ जातका बर्खे धान सिफारिस गरिएको छ । यी धानको उत्पादन क्षमता साढे दुई देखि साढे आठ मेट्रिक टन प्रतिहेक्टर हुने नार्कले जनाएको छ । यिनै धान देशभर खेती हुँदै आएको छ ।  

मुलुकभरमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा कृषि कर्म हुँदै आएको छ । जसमध्ये १४ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । वार्षिक ५१ देखि ५४ लाख मेट्रिक टन हाराहारीमा धान उत्पादन हुने सरकारी तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप