बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साग स्वर्णधारी दाजुभाइको पहलमा कोटेश्वर डोजाङलाई २० लाखको सामाग्री

बुधबार, २६ वैशाख २०८१, १३ : ३९
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ ।  दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी दाजुभाइ निर्मल र नीराजन श्रेष्ठको पहलमा कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरूप बिहीबार खेल सामाग्री प्रदान गरिएको छ । श्रेष्ठ दाजुभाइले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई २० लाख रुपैयाँ बराबरको २ सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम एक कार्यक्रमबिच हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा डोजाङका प्रशिक्षक, खेलाडी, तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा अन्तर्राष्ट्रिय निर्णायक एवं नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति रहेको थियो । उक्त सामाग्री खरिद गर्न दाजुभाइसहित अस्ट्रेलिया बस्ने सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गरेका हुन् । सबै तेक्वान्दो खेलाडी हुन् । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् ।

निर्मल र निराजनले पाकिस्तानमा भएको नवौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका थिए । दुवै विगत १८ वर्षदेखि अमेरिकाको ओरेगनमा बस्दै आएका छन् । त्यहाँ पनि उनीहरूले वान तेक्वान्दो एकेडेमी चलाउनुका साथै मुख्य गरी व्यवसायमा संलग्न छन् । उनीहरू सेभेन ११ र मार्ट सञ्चालन गर्छन् ।

दुवैले सँगै एसियाली खेलकुद (बुसान एसियाड) पनि खेलेका थिए । नीराजनसँग विश्व तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव पनि छ । परिवारसहित चाड पर्वका लागि नेपाल आएका दुवै बिहीबारै अमेरिका फर्केका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप