सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रामपुरका अग्निपीडितलाई  रेडक्रस  र स्थानीय तहको सहयोग

सोमबार, ३१ वैशाख २०८१, २१ : ०४
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरका अग्निपीडितलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा शाखा र स्थानीय तहले राहत सामग्री प्रदान गरेका छन् ।

यही कात्तिक २७ गते बेलुका भएको आगलागीमा रामपुर तल्लोटारका दुई परिवारमा भौतिक क्षति भएको थियो । स्थानीय एकबहादुर तोलाङ्गी र उनका भाई मीनबहादुर तोलाङ्गीको घरमा आगो लागेको थियो । तिहारमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईका अनुसार आगलागीमा अन्नपात, भाँडाकुँडा जलेको थियो । उनका अनुसार सो घटनामा करिब रु १६ लाख ५० हजार बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । 
यसैबीच, नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा जिल्ला शाखाका अध्यक्ष नारायण दाहालको टोलीले आग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । घटनाको भोलिपल्ट नै दुवै पीडित परिवारलाई रेडक्रस जिल्ला शाखाले त्रिपाल, कम्बल, सुती तथा बुट्टे कपडा, बाल्टी, डोरी र ‘डिग्निटी किट’ प्रदान गरेको थियो । 

मोलुङ गाउँपालिका कार्यालयका सूचना अधिकारी सन्तोष गौतमले पालिकाले पनि राहत सामग्री प्रदान गरेको जानकारी दिए । पालिकाका तर्फबाट पीडित तोलाङ्गी परिवारलाई एक–एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र कम्बल पनि वितरण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप