सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘म रुन्चे कहाँ हो र ?’– अभिनेत्री पूर्णिमा

बुधबार, २१ चैत २०७४, १३ : ४०
बुधबार, २१ चैत २०७४

काठमाडौं– आज त रुनु भएन नि ? अभिनेत्री पूर्णिमा लामालाई एक पत्रकारले प्रश्न राखिहाले । ‘म रुन्चे कहाँ हो र ?’ पूर्णिमाले भनिन्– ‘त्यो दिन त निर्माणको दुःख सम्झिएर रोएकी थिएँ ।’

आइतबार बानेश्वरको एक रेस्टुरेन्टमा निर्माण अभिनय सुनाउँदै पूर्णिमाले भनिन् । उनीसँगै उपस्थित थिए चलचित्रका अन्य दुई मुख्य कलाकारहरू करिश्मा मानन्धर र जयकिसन बस्नेत, जो उनको भनाइमा सहमती जनाइरहेका थिए । केही अगाडि राखिएको चलचित्र ‘हिरोज’को एक कार्यक्रममा पूर्णिमा सबैमाझ रोएकी थिइन् । 

‘अभिनय जस्तो सजिलो निर्माण रहनेछ । अभिनयमा आफूलाई क्यारेक्टरमा राम्रोसँग भिजाए मात्र पुग्छ’– उनले भनिन्– ‘निर्माणमा सबैलाई सन्तुष्ट बनाउनुपर्ने । कहीले के मिल्दैन, कहिले के पुग्दैन ।’ ‘रेलिमाई’, ‘बबी’ र ‘नेप्टे’ समेत अभिनय गरेकी उनको रिलिजमा आउन लागेको ‘हिरोज’ दोस्रो चलचित्र हो ।

बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृति, अन्यायविरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइएको ‘हिरोज’ मार्फत करिश्मा लामो समयपछि अभिनयमा देखिँदै छिन् । ‘वान वे’पछि उनको चलचित्र आएका छैनन् । केही समय चलचित्र नखेल्ने भनेर पर रहेकी करिश्माले किन गरिन् हिरोज ? भनिन्– ‘चलचित्रको कथा मन पर्यो । त्यसमा पुराना फाइट डाइरेक्टर एनबी महर्जनले अभिनयका लागि गरेको अनुरोधमा नाई भन्न सकिनँ ।’ हिरोजमा आफ्नो अहिलेसम्मकै फरक भूमिका रहेको बताएकी करिश्माले दुई महिना लगाइएको छायाङ्कनको दुःखसमेत सम्झिइन् ।

करिश्मा र पूर्णिमाको अलवा जयकिसन बस्नेत, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारको समेत चलचित्रमा अभिनय रहेको छ । 

अघिपछि अरू कलाकारले भनेझैं जयकिसन बस्नेतले पनि ‘हिरोज’मा आफ्नो युनिक रोल भएको दाबी गरे । यसमा उनको लिड रोल नै छ रे । आफूले चलचित्रमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिने उनले दाबी गरे । 

एनबी महर्जनको निर्देशनमा बनेको २३ चैत अर्थात यही शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रको प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् । जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रका निर्माता युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् ।

नयाँ वर्षको उपहार स्वरूप दर्शक माझ ल्याउन लागिएको चलचित्रप्रति आफू निकै आशावादी रहेको पूर्णिमाले बताइन् । भनिन्– ‘चलचित्रले धेरै कमाउला भन्ने आस छैन । लगानी सुरक्षित मात्र भए पुग्छ ।’

‘हिरोज’मा पूर्णिमा सुरुमा कलाकारका रूपमा मात्र प्रवेश गरेकी थिइन् । तर, बीचमा निर्माता विदेशिएपछि छायाङ्कन रोकिन पुग्यो । आफूले खेलेको चलचित्र किन अलपत्र पार्ने भनेर उनले नै लगानी गरिन् । बाँकी काम सिध्याउने योजनासहित निर्माताको कमान्ड सम्हालेकी उनले चलचित्र हलसम्म ल्याउन अनेक दुःख उठाउनु परेको छ । 

पूर्णिमाको लगनशीलता देखेर प्रभावित भएकी छिन् करिश्मा । चलचित्रमा पूर्णिमाले धेरै कलाकारलाई ब्रेक दिएको बताएकी करिश्माले पूर्णिमा जस्तो निर्माता अरू पनि भित्रिनुपर्ने धारण राखिन् । 

निर्देशक एनबी महर्जन भने यो समय उपस्थित थिएनन् । निर्माण युनिटका केहीले राम्रो सघाए पनि केही सदस्यले राम्रो साथ नदिएको पूर्णिमाले गुनासो गरिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप