आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

चार राष्ट्र सम्मिलित महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो

बिहीबार, ०३ जेठ २०८१, १० : ०७
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको जापानले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर पूजा महतोले ४३ रनको योगदान गरिन् । उनले ५१ बलमा सामना गरी तीन चौका पनि हिर्काइन् । 

रोमा थापाले पनि टोलीको खातामा २२ रन थपिन् । रन आउट भई पेभेलियन फर्किनुअघि उनले १९ बलमा तीन चौका प्रहार गरिन् । पूर्वकप्तान रुबिना क्षेत्रीले पनि टोलीका लागि २१ रनको योगदान गरिन् । उनी पनि रन आउट भएकी थिइन् । उनले १९ बलमा दुई चौका प्रहार गरिन् । 

कप्तान इन्दू बर्माले १२ रन बनाइन् । उनले २१ बलमा सामना गरी एक चौका हिर्काएकी थिइन् । नेपालका अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । जापानकी बलर अहिल्या चन्डेल, एरिका क्विन र आयुमी फुजिकावाले एक—एक विकेट लिए । 

जवाफी ब्याटिङ गरेको जापानका लागि ओपनर अकारी निसिमुराले सर्वाधिक २९ रन बनाइन् । उनले ५१ बलमा दुई चौका प्रहार गरिन् । अर्की ओपनर हिनासे गोतोले पनि १६ रन जोडिन् । उनले ३४ बलमा एक चौका प्रहार गरिन् । 

दुबै ओपनरले टोलीका लागि ३७ रनको साझेदारी गरेका थिए । अहिल्या चन्डेलले ११ रन जोडिन् । जापानका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर संगिता राई इन्दू बर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक—एक विकेट लिए । 

चार राष्ट्र सम्मिलित शृङ्खलाको फाइनल खेल आइतबार दिउँसो आयोजक हङ्कङ र जान्जनियाबिच खेलिने छ । नेपाली टोली लिग चरणको आफ्नो पहिलो खेलमा तान्जनियासँग २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाललाई हङ्कङले नौ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप