आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फेरि पड्कियो स्पेशएक्सको स्टारशिप रकेट, मङ्गल ग्रह जाने मस्कको सपना पुनः तुहियो

बिहीबार, ०३ जेठ २०८१, १२ : ११
बिहीबार, ०३ जेठ २०८१

क्यालिफोर्निया । अमेरिकी खर्ब पति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेशएक्सको स्टारशिप सुपर हेभी रकेट फेरि पनि पड्किएको छ । शनिबार दोस्रो पटक रकेट प्रक्षेपणको प्रयास असफल भयो । पहिलो परीक्षण उडान विस्फोट भएको ७ महिनापछि कम्पनीले शनिबार बिहान प्रक्षेपणको अर्को प्रयास गरेको थियो । तर प्रक्षेपण गरेको केही बेरमै विमान अलप भएर सञ्चार गुम्यो ।

रकेट बुष्टरबाट सफलतापूर्वक छुट्टिएको थियो । सुरुमा बुष्टर पड्कियो । रकेड आकाशतर्फ उडी नै रहेको थियो । तर ६ मिनेटपछि स्टारशिपले सङ्केत पठाउनै छाड्यो अनि केही बेरमै रकेट पड्कियो । रकेट किन पड्कियो भन्ने स्पष्ट छैन । पड्किनु अघि रकेट कति माथिसम्म पुगेको थियो भन्ने पनि थाहा भएको छैन । यद्यपि, स्टारशिप समुद्री सतहबाट ६२ माइल नाघेको हुन सक्ने बताइएको छ । स्टारशिप शनिबार अन्तरिक्षमा पुगेको भए यो अहिलेसम्मकै सबैभन्दा ठुलो र शक्तिशाली प्रक्षेपण प्रणाली हुने थियो ।

स्टारशिप मस्कको सबैभन्दा ठुला अन्तरिक्ष योजनाको केन्द्रमा छ । एलन मस्कले मङ्गल ग्रहमा मानव बस्ती बसाउने योजना बनाइरहेका छन् । जापानी अर्ब पति व्यापारी युसाकु माएजावाले चन्द्रमाको भ्रमणमा जान स्टारशिप बुक नै गराएका छन् । अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले पनि सन् १९७२ यता पहिलो पटक चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयात्रीलाई टेकाउन स्पेशएक्ससँग सम्झौता गरेको छ ।

यी सबै योजनाहरू स्टारशिपको उडान शक्तिमा निर्भर छ । स्टारशिपलाई रिसाइकल गरेर बारम्बार प्रयोग गर्न सकियो भने अन्तरिक्षमा मानव बस्ती बसाउने र मङ्गल यात्राको सपना सम्भव छ, यो सस्तो पनि पर्न आउँछ । तर पछिल्लो समय स्टारशिप विस्फोट भइरहेका छन् । साना स्तरको परीक्षण र प्रोटोटाइपमा समेत रकेट या विस्फोट भइरहेका छन् या दुर्घटना । शनिबारको दुर्घटनापछि स्टारशिपले फेरि कहिले उडानको अनुमति पाउँछ भन्ने स्पष्ट छैन । अहिलेका लागि मंगलमा बस्ती बसाल्ने मस्कको योजना फेरि पनि तुहिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप