आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा चाडपर्वको अवधिमा २३ जनाको मृत्यु

मङ्गलबार, ०४ वैशाख २०८१, १८ : १९
मङ्गलबार, ०४ वैशाख २०८१

हेटौंडा । बागमती प्रदेशका १० जिल्लामा चाडपर्वको अवधिमा २३ जनाले विभिन्न कारणले ज्यान गुमाएका छन् । दसैँ र तिहारको अवधिमा मात्र काठमाडौँ उपत्यका बाहेकका जिल्लामा विभिन्न घटनामा परेर २३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

चाडपर्वको अवधिमा मकवानपुर जिल्लासहित बागमती प्रदेशका १० जिल्लामा सामान्य दिनभन्दा बढी दुर्घटना र अपराधका घटना भएको कार्यालयको तथ्यांक छ । चाडपर्वमा सवारी साधनको चाप बढ्नु, लापरबाहीसँग सवारी चलाउनुलगायत कारणले दुर्घटना बढी भएको प्रहरीले जनाएको छ । चाडपर्वमै अपराधका घटना पनि बढ्ने गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार दसैँ र तिहार यता बागमती प्रदेशका १० जिल्लामा मात्र  १५६ वटा सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । प्रदेशका १० जिल्लामा चाडपर्वको समयमा भएका १५६ वटा सवारी दुर्घटनामा परी २३ जनाले ज्यान गुमाउँदा ३५१ जना घाइते भएका छन् । उक्त घटनामा संलग्न रहेको भन्दै ५९ हजार ७३२ वटा सवारीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

गत दसैँमा मात्र मकवानपुरसहित बागमती प्रदेशमा १७ जनाको मृत्यु भएको थियो । दसैँपछि तिहारसम्म आइपुग्दा दुर्घटनाबाट थप ६ जनाको मृत्यु भएको उनले बताए । मकवानपुरमा दसैँको एक साता अवधिमा १४ वटा सवारी दुर्घटना भएको थियो । मकवानपुरमा मात्रै दसैँको अवधि कात्तिक १ देखि ११ गतेसम्म सवारी दुर्घटना र अन्य घटनामा गरी चार जनाको मृत्यु भएको थियो । दसैँमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिकामा भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटना बाहेकको घटनामा भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको थियो ।

चाडपर्वको अवधिमा अपराध अनुसन्धान तथा कारबाही तर्फ ३०९ वटा कसुर दर्तामा भएको र उक्त घटनामा संलग्न भएको १९९ जनालाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चाडपर्व अवधिभर ५८ सवारी साधनबाट ४४० जना यात्रुको बढी भाडा बापत एकलाख १३ हजार ६७० रुपैयाँ फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता रेग्मीले बताए । प्रहरीको सक्रियताका कारण ४४० जना यात्रु भाडा रकम ठगिनबाट जोगिएका छन् । चाडपर्वको मौकामा यात्रुहरु अत्यधिक ठगिने गरेकाले प्रहरीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनबाट रकम फिर्ता गराएको छ । दसैँ, तिहार र छठ पर्वको मौका छोपी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएपछि बढी भाडा लिए बापतको रकम फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले चाडपर्वका बेला जाँच गर्दा ५९ हजार ७३२ वटा सवारी कारबाहीमा परे । जसबाट ४ करोड ८८ लाख ५९ हजार ५०० रुपैयाँ जरिवाना स्वरुप राजस्व संकलन गरेको उनले बताए । चाडपर्वका बेला नागरिकलाई सहज सेवा दिन बागमती प्रदेशका १० जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरिएको प्रवक्ता रेग्मीले बताए ।

प्रतिबन्धित जुवा खेल्ने क्रममा १०८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाको खालबाट चितवन, मकवानपुर, काभ्रे, नुवाकोट र सिन्धुलीबाट १ सय ८ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट १६ लाख ८९ हजार ५ सय २९ रुपैयाँ बरामद गरी कानुन बमोजिम अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बागमती प्रदेशमा चाडपर्वको मौका छोपेर भन्सार छलेर ल्याइएको १२ क्विन्टल ९६५ केजी अवैध चिनी बरामद भएको छ । अवैध रुपमा ओसारपसार गर्दै गरेको ९ लाख ४६ हजार ४२० रुपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र साडी प्रहरीले बरामद गरेको छ । प्रहरीले मकवानपुर, चितवन र सिन्धुलीमा चाडपर्वको समयमा ५ बोरा, ४४ पोका र ४५२ प्याकेट पटका तथा विस्फोटक पदार्थ बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप