मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अत्याधुनिक हतियार प्रकरणमा निर्दोषलाई फसाएको भन्दै स्थानीय आन्दोलित

शनिबार, ०५ जेठ २०८१, ०९ : ५१
शनिबार, ०५ जेठ २०८१

रौतहट । रौतहट स्थित यमुनामाई गाउँपालिकाबाट प्रहरीको संयुक्त टोलीले बरामद गरेको ४ थान अत्याधुनिक हतियारमा दुई जना स्थानीयको संलग्नता रहेको प्रहरीले जनाएको छ। तर स्थानीयले भने प्रहरीले दुई जना निर्दोषलाई फसाएको भन्दै विरोध गरेका छन्। 

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी दामोदर केसीको कमान्डमा सशस्त्र प्रहरीसहित गत आइतबार अपराह्न यमुनामाई गाउँ पालिका–३ मलहिनिया स्थित एक घरबाट  ९ एमएम पेस्तोल ३ नाल , त्यसमा लाग्ने गोली १३ गोटा , म्याग्जिन ६ वटा तथा एयर गन १ नाल , मोबाइल २ थान, सिमकार्ड ४ थान, पेनड्राईभ १ थान र शेख एजाज महमदको नेपाली नागरिकता १ थान बरामद गरेको थियो । 

बरामद हतियारमध्ये २ नाल पेस्तोल 'मेड इन युएसए' र एक नाल 'मेड इन इन्डिया' लेखिएको छ । बरामद अवैध हतियारमा स्थानीय सेख बैतुल्लाह र शेख एजाजको संलग्नता रहेको एसपी श्रेष्ठले बताएका छन्।

उक्त घरमा ठुलो मात्रामा अवैध हतियार लुकाएर राखेको छ भने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट डिएसपी केसीको कमान्डमा टोली गएपछि टोलीको व्यापकको लागि आफू स्वयं घटनास्थल पुगेको थिए एसपी श्रेष्ठले भने हाम्रो टोलीमा सिडिओ धर्मेन्द्र कुमार मिश्र, सशस्त्रका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धान का एसपी चन्दन कुमार झाको समेत सहभागिता थियो।

उक्त अपरेसन सफल बनाउन जिल्ला प्रहरी कार्यालय गौर, सशस्त्र प्रहरी बल हेक्वा गौर, इलाका प्रहरी कार्यालय गरुडा, प्रहरी चौकी शुकदेव चौक, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट फतुवा सहित बाट ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको एसपी श्रेष्ठले जानकारी दिएका छन्।

हाल उनीहरू दुवै जना फरार रहेकाले खोजी तथा हतियार कुन प्रयोजनको लागी त्यहाँ ल्याएको हो । त्यसबारे थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठको भनाइ रहेको छ।

उता मलहिनियाका स्थानीय महिलाहरुले  फुसको कच्ची घरमा प्रहरी प्रवेश गरेर झोलामा ल्याएका हतियार राखेर फोटो र भिडियो बनाएको आरोप लगाएका छन् । 

शेख बैतुल्लाहको भारतमा रहेका आफन्त बितेपछि त्यस तर्फ परिवार सहित गएकाले घरमा ताला लागेको अवस्था रहेको स्थानीयले बताए।

स्थानीय महिला सकिना खातुनले  छिमेकका मानिसहरूलाई भेला गराई सशस्त्र प्रहरीको कार्यशैलीको विरोध गरेपछि आफूहरूमाथि कुटपिट भएको बताइन् । सो क्रममा सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा करिब एक दर्जन भन्दा महिलाहरुलाई चोटपटक लागेको सकिनाले बताइन् ।

यमुनामाई गाउँपालिकाको अध्यक्ष शेख इर्शादले  घटना सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय गौरमा डेलिगेशन लिएर जाने बताएका छन्।

अर्को तर्फ रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बैतुल्लाह र एजाज पहिलै देखि आपराधिक प्रवृत्तिका मानिस रहेको बताउँदै स्थानीयहरूको आरोपको खण्डन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप