आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कपिल देबको भनाइ सार्वजनिक भएपछि भारतीय समर्थक बीसीसीआईप्रति आक्रोशित

शनिबार, ०५ जेठ २०८१, १० : २३
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । आफ्नै घरेलु मैदानमा आयोजित आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि यतिबेला करोडौँ भारतीय समर्थक निराश छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने भारतमा विश्वकपको फाइनल सकिएको दुई दिन बितिसक्दा पनि त्यही विषय चर्चाको शिखरमा छ । 

विश्वकपको फाइनललगत्तै भारतीय क्रिकेटमा अर्को बहस पनि सुरु भएको छ । भारतलाई ४० वर्षअघि पहिलोपटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने टोलीका कप्तान कपिल देबले आफूलाई यसपटक विश्वकपको फाइनल खेल हेर्न निम्तोसमेत नपठाइएको रहस्य खोलेपछि भारतमा क्रिकेट नेतृत्वको चर्को आलोचना पनि सुरु भएको छ । 

सन् १९८३ मा कपिल देब नेतृत्वको भारतीय टोलीले पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । उनी गत आइतबार अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आयोजित अस्ट्रेलिया र भारतबिचको फाइनल खेल हेर्न उपस्थित भएका थिएनन् । 

त्यसपछि सञ्चारकर्मीले ६४ वर्षीय कपिल देबसँग विश्वकपको फाइनलमा उनको अनुपस्थितिको कारण जान्न खोजेका थिए । त्यसको जवाफमा कपिल देबले आफूलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विश्वकपको फाइनल हेर्न निम्तो नपठाएको खुलासा गरेका थिए ।

‘मलाई विश्वकपको फाइनल खेल हेर्न निम्तो नै पठाइएन । उनीहरु (बीसीसीआई)ले न मलाई निम्तो पठाए न त टेलिफोन नै गरे,’ आफ्नो समयका प्रभावशाली अलराउन्डर कपिल देबले भनेका छन् । उनले आफू अन्तिम समयसम्म पनि सन् १९८३ मा पहिलोपटक विश्वकप जिताउने टोलीका सबै खेलाडीलाई फाइनल खेल हेर्न निम्तो गरिन्छ होला भन्ने आसमा रहेको पनि बताएका छन् । 

‘देशभित्रै विश्वकप आयोजना हुँदै थियो । त्यसमाथि पनि हाम्रो टोली अपराजित रहँदै फाइनलमा पुगेको थियो । यस्तो स्थितिमा सन् १९८३ मा पहिलोपटक देशलाई विश्वकपको उपाधि दिलाउने टोलीका सबै खेलाडीलाई निम्तो गरिएला भन्ने आशा थियो । तर, मलाईसम्म फाइनल खेल हेर्ने निम्तो आएन,’ उनले भनेका छन् । 

कपिल देबको यो भनाई सार्वजनिक भएपछि अहिले बीसीसीआईको चर्को आलोचना भइरहेको छ । क्रिकेट समर्थकहरूले सामाजिक विभिन्न सञ्जालमार्फत पनि बीसीसीआईका पदाधिकारीहरुलाई गाली गरिरहेका छन् । क्रिकेट समर्थकले बीसीसीआई नेतृत्वले सन् २०११ मा भारतलाई दोस्रो पटक विश्वकपको उपाधि दिलाउने कप्तान महेन्द्रसिंह धोनीलाई समेत फाइनल खेल हेर्न निम्तो नपठाइएको भन्दै आक्रोश व्यक्ति गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप