आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘शिक्षामा बुद्धिचाल’ कार्यक्रम घोषणा

शनिबार, ०५ जेठ २०८१, १० : ३४
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)सँगको सहकार्यमा ‘शिक्षामा बुद्धिचाल’ (चेस ईन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासङ्घले आगामी पाँच वर्षका लागि ‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमको घोषणा गरेको हो । 

महासङ्घका अनुसार ‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयहरूमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक दिने र त्यसपछि प्रत्येक विद्यालयमा बुद्धिचाल प्रतियोगिता आयोजना गरी दुई—दुई जना खेलाडी (एक पुरुष र एक महिला) छनोट गरिने छ । 

त्यसपछि छनोट भएका खेलाडीबिच प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेर कम्तीमा १० जना खेलाडीलाई कक्षा ५ देखि १२ सम्म पठनपाठनका लागि निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ । उक्त कार्यक्रम पाँच वर्ष चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि विस्तार गरिँदै लगिने महासङ्घले जनाएको छ । 

उक्त कार्यक्रमका लागि प्याब्सन बागमती प्रदेशसँग पाँच वर्षका लागि सम्झौतासमेत गरिसकिएको महासङ्घले जनाएको छ । सम्झौतापत्र महासङ्घका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जन र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

महासङ्घका कार्यवाहक अध्यक्ष महर्जनले प्याब्सनसँगको सहकार्यले बुद्धिचाल खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । महासङ्घले प्रतियोगिता सञ्चालन गर्नुअघि हरेक विद्यालयमा शिक्षकलाई बुद्धिचाल खेलको प्राविधिक प्रशिक्षण दिनेसमेत जनाइएको छ । 

‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमको सम्पूर्ण खर्च प्याब्सन बागमती प्रदेशले बेहोर्ने जानकारी प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले दिए । बागमती प्रदेशमा प्याब्सनसँग करिब चार हजार विद्यालय आबद्ध रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप