मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

'अर्थतन्त्रका विषयमा सबै पक्षबिचको छलफलले निजी क्षेत्रको मनोबल बढाउँछ'

शनिबार, ०५ जेठ २०८१, २० : २५
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँगको छलफलले निजी क्षेत्रको मनोबल बढाउने काम गर्ने आशा जगाएको निजी क्षेत्रले बताएको छ । 

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो बताएको हो । 

निजी क्षेत्रसँग सरकारले थालेको अर्थतन्त्र चलायमान बनाउन छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाएर गति दिने विषयमा निजी क्षेत्रसहित सरकारका विभिन्न निकायहरुसँगको छलफलले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिको निजी क्षेत्रको आशा छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सरकारका सबै निकायहरुसहित निजी क्षेत्रसँग मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा छलफल गर्नु निजी क्षेत्रको लागि खुसीको कुरा भएको बताए । उनले सरकारका सबै निकायमा रहेको नीतिगत कमजोरीहरु समन्वयात्मक हिसाबले समाधान गरी अर्थतन्त्र चलायमान बनाउने विषयमा सकारात्मक भएको बताए । उनले सरकारसँगको छलफलले आगामी दिन आम नागरिक र निजी क्षेत्रको मनोबल बढाउने काम गर्ने विश्वास रहेको बताए । उनले अहिले अर्थतन्त्रमा देखिएको समस्याले आम नागरिकको मनोबल कमजोर, साना तथा मझौला उद्योग र साना पसलहरु पलायन भए जाने र  नेपालमा व्यवसाय गर्नेभन्दा पनि विदेश जाने योजना बढी बन्न लागेको अवस्था रोक्नु सरकारको प्रमुख दायित्व रहेको बताए । 

अध्यक्ष ढकालले सरकारले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च वृद्धि र निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी दिन आवश्यक रहेको बताए । उनले राष्ट्र बैंकले कर्जाका सहुलियतको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक भएको बताए । उनले सरकारले बैंकको कर्जा लिएर कर्जाको किस्ता तिर्न अफ्ठ्यारो भएको भए सहुलियत दिने विश्वास रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले नीतिगत स्थिरता ल्याउनसके अर्थतन्त्र चलायमान हुने बताए । उनले सरकारको अस्थिर आर्थिक नीतिको कारण अर्थतन्त्र चलायमान बन्न नसकेको बताए । उनले सरकारले निजी क्षेत्रसहित सरकारी निकायहरु बिचको छलफल सकारात्मक रहेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउने विश्वास जगाएको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप