मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नवौँ धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशिमा वृद्धि

आइतबार, ०६ जेठ २०८१, ११ : ११
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । यो वर्ष आयोजना हुने ‘नवौँ धारा नेपालगन्ज म्याराथन’ को पुरस्कार राशीमा वृद्धि गरिएको छ । नवौँ धारा नेपालगन्ज म्याराथनको विजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् । 

यसैगरी तेस्रो हुनेले ५० हजार, चौथोले २५ हजार, पाँचौँले १५ हजार, छैटौँले १० हजार तथा सातौँ र आठौँ स्थानमा आउने धावकले समान पाँच—पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । ४५ बर्षभन्दा माथिका धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

हाफ म्याराथन (महिला) मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौँले १० हजार तथा छैटौँ, सातौँ र आठौँलाई समान पाँच—पाँच हजार रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृति गरिने छ । 

यसैगरी १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन स्थान हासिल गर्ने धावकलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । स्कुलस्तरीय पाँच किलोमिटर दौडमा शीर्ष तीन स्थान हासिल गर्ने धावकलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यसमा पनि कक्षा ६ देखि ८ तथा कक्षा ९ देखि १२ सम्मको अलगअलग स्थान निकालिने आयोजकले जनाएको छ । 

यसैगरी ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ शीर्ष तीन स्थानमा आउने खेलाडीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिने बताइएको छ । कर्पोरेट पाँच किलोमिटर दौडका विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ ।  क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौँ धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ पनि आयोजना हुने आयोजकले जनाएको छ । 

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । एम्सबाट दौडको दूरी ४२.१९५ किमी, २१ किमी, १० किमी र पाँच किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्छ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए । 

महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुणर्लक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप