रुपन्देहीको सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु
बुटवल । रुपन्देहीको सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । आर्थिक विकासको राष्ट्रिय आधार: कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ बुधबारदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको हो ।
महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै लोक संस्कृतिको जगेर्ना गर्न सघाउ पुग्ने आयोजकले विश्वास लिएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा सुरु भएको महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उद्घाटन गरे ।
शर्माले सैनामैना औद्योगिक व्यापार महोत्सवले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको अवस्था जटिल रहेको बेला सैनामैनामा सुरु भएको महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान गराउन सहयोग पुग्ने बताए ।
सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवबाट स्थानीय उपभोक्ताले सस्तोमा विविध सामान खरिद विक्रीको अवसर प्राप्त गर्ने, उद्योगी व्यवसायीले आफ्ना उत्पादनको प्रवर्द्धन गर्ने अवसर पाउने बताए।