आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गम्भीर घाइतेको थप उपचारको माग गर्दै उर्लाबारीमा चक्काजाम

सोमबार, ०७ जेठ २०८१, १६ : १७
सोमबार, ०७ जेठ २०८१

उर्लाबारी । उर्लाबारी आगलागी घटनाका गम्भिर घाइतेलाई थप उपचारको व्यवस्था मिलाउन माग गर्दै उर्लाबारीमा चक्काजाम गरिएको छ । गत कार्तिक २६ गते लक्ष्मीपूजाको राती १०ः ४५ बजेको समयमा उर्लाबारी वडा नं। ७ निवासी दिपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

घाइतेमध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयबासीले गम्भीर घाइतेको थप उपचारमा सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रुपमा १० मिनेट चक्काजाम गरिएको उर्लाबारी वडा नं. ७ का सरोज बस्नेतले जानकारी दिए । ‘पूर्वपश्चिम राजमार्गअन्तरत उर्लाबारीको मावा खोलामा १० मिनेट सवारी  साधन अवरुद्ध गराएर सरकारको ध्यानाकर्षण गराउन खोजिएको हो’ उनले भने, ‘घाइतेमध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको छ, उहाँहरुको अवस्था गम्भिर रहेको कुरा डाक्टरबाट आएको छ । त्यसैले थप उपचार होस् ।’ 

कार्यक्रममा उर्लाबारीका सामाजिक व्यक्तित्व बीरबल थापा, बलबहादुर घिसिङ, घनश्याम भण्डारी लगायतले बोल्दै गम्भिर घाइतेको थप उपचारमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिए । इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकालगायतमा ज्ञापनपत्र समेत बुझाइएको उर्लाबारी–७ का टिका सिम्खडाले जानकारी दिए । 

आइसियुमा उपचाररत उर्लाबारी–७ का शिवकुमार विक (राजिव), विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, कविराज दाहाल र राम नरेश मरिताको थप उपचारका व्यवस्था मिलाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ ।  अन्य घाइतेहरुको समेत अवस्था हेरी थप उपचारका लागि भारतलगायत विभिन्न मुलुकमा लैजाने ब्यवस्था मिलाउन आग्रह गरिएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको ब्यवस्था मिलाइदिन पनि सबै पक्षसँग आग्रह गरिएको सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप