सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सद‍्भाव आचार्यले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

शनिबार, १२ जेठ २०८१, १७ : २३
शनिबार, १२ जेठ २०८१

काठमाडौँ ।  युवा एमेच्योर गल्फर सद‍्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन्।  

सद‍्भाव  प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन्। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए।  

अन्तिम दिन आज ३-अन्डर ६९ स्कोर गर्दा सद‍्भावले समग्रमा १७-अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन। इभन-पार ७२ खेल्दै समग्रमा १०-अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए। प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गरे।  

समग्रमा ७-अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए। उनले आज इभन-पार ७२ मा खेल सकाए। प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे। आज २-ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन-पार २ सय ८८ प्रदर्शनमा चौथो भए। प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो। समग्रमा २-ओभर २ सय ९० को स्कोरमा नीरज तामाङ पाँचौँ भए। उनले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए।  

पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए। आज ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता सकाए। समग्रमा उनी छैटौँ भए। 

समग्रमा ४-ओभर २ सय ९२ सहित रवि खड्का सातौँ भए। उनले आज इभन-पार ७२ मा खेल सकाए। उनले ५० हजार प्राप्त गरे। आज ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौँ भए। उनले ४२ हजार ५ सय पुरस्कार राशि हात पारे। समग्रमा ६-ओभर २ सय ९४ सहित धन बहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौँ भए। धनले आज ६-ओभर ७८ र तोरणले ३-अन्डर ६९ स्कोर गरे। दुवैले ३७ हजार २ सय ५० हजार नगद पुरस्कार प्राप्त गरे।  

अन्तिम १८ होलको सुरुवात गर्दा आज सदभावसँग ४ स्ट्रोकको अग्रता थियो। सदभावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे। दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सदभावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो। तर यसपछि सदभावले तेस्रो, चौथो र छैटौँ होलमा बर्डी प्रहार गरे र फ्रन्ट नाइनको खेल सकिदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए। दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरेपनि चौथो, छैटौँ, आठौँ र नवौँ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३८ मा सके।  

यसपछि ब्याक नाइनमा सदभावले दशौं देखि तेर्हौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने संभावनालाई लगभग सुनिश्चित गरे। अन्य गल्फरले चुनौती समेत दिन सकेनन। यसपछि १४औं र १६औं होलमा बोगी खेपे पनि ब्याक नाइन २-अन्डर ३४ मा पुरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बने। दिनेशले १४औं होलमा एक सट खेर फाले भने १०औं, ११औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अण्डर ३४मा सके।  

भुवनले इभन-पार ७२ मा खेल सकाउने क्रममा फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। दोस्रो होलमा बोगी प्रहार गर्दा तेस्रो र सातौँ होलमा एक-एक सट बचाए। छैटौँ होलमा भने डबल बोगीको सामना गरे। यसपछि १५औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी हान्दै १-अन्डर ३५ मा ब्याक नाइन सके।  

सञ्जयले दोस्रो, सातौँ र आठौँ होलमा बोगी खेप्दा फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाए। १८औ होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।  

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे। ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप