सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनकुटा घटना : पत्नी र छोराको हत्यापछि टीकारामले आत्महत्या गरेको आशंका

बिहीबार, १३ वैशाख २०८१, १७ : ०८
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । धनकुटा नगरपालिका–१ स्थित निगालेमा बिहीबार एकै परिवारका ३ जना मृत अवस्थामा भेटिए । निगाले घर भएका ३५ वर्षका टिकाराम गुरुङ, उनकी पत्नी ३६ वर्षीया भिमा र १० वर्षका छोरा आयुष डेरामा मृत अवस्थामा भेटिएका हुन् ।

टीकाराम झुन्डिएको अवस्थामा फेला परेका थिए । खाटमा टीकारामकी पत्नी र छोरा मृत अवस्थामा पल्टिरहेको अवस्थामा फेला परेका हुन् । घटनास्थलमा बाहिरका मानिसको उपस्थिति नदेखिएको धनकुटाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई जानकारी दिए ।  

भीमा गुरुङको मुखमा चोट देखिएको छ । आयुषको टाउको पछाडिको भागमा चोट देखिएको एसपी कोइरालाले जानकारी दिए । कोइरालाले भने–‘टिकारामले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक आकलन गरेका छौँ, पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौँ ।’

तिनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान गर्ने एसपी कोइरालाले बताए । टिकाराम त्यहाँ घरको रेखदेख गर्नेगरी डेरा लिएर बसेका हुन् । बिहीबार राति १ बजेतिर उनले ६ वर्षीया छोरी आशिकालाई आफू ‘बाहिर निस्कनुपर्ने भयो’ भनेर छिमेकमा डेरामा बस्नेहरूलाई जिम्मा लगाएको थाहा  भएको छ । बिहान उठेर आशिका चप्पल लिन कोठामा पस्दा बुवा–आमा मृत अवस्थामा देखेपछि छिमेकीलाई खबर गरेकी थिइन् ।

टीकाराम मदिराको लतमा थिए । पत्नी भीमाले बनिबुतो गरेर परिवार पाल्ने गरेको छिमेकीहरूले प्रहरीलाई बताएका छन् । हरेक साँझ मासु र मदिरा दिनुपर्छ भन्दै टिकारामले पत्नीसँग झगडा गर्ने गरेको छिमेकीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप