आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली कप : एपीएफ विजयी

बिहीबार, १४ मङ्सिर २०८०, १७ : ४१
बिहीबार, १४ मङ्सिर २०८०

पोखरा । पोखरामा जारी केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत एपीएफ क्लबका अरुण ऐरीले लुम्बिनीका ५ जनालाई पेभिलियन फर्काएपछि एपीएफ ८४ रनले विजयी भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन दिंदै ५ विकेट हात पारे ।

लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । एपीएफका भुवन कार्कीले २, अविनाश बोहरा र अमर रौतालाले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । लोकेश बमले विष्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपीएफले सम्मानजनक स्कोर गरेको थियो । गण्डकीसँग एक खेल गुमाएको एपीएफलाई सेमिफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नु पर्ने दबाबमा रहेको एपीएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए ।

यता बलिङतर्फ लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले समान २–२ विकेट लिए भने मोहम्मद हुसेनले १ विकेट हात पारे ।

समूह ‘बL’मा रहेको एपीएफ सेमिफाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ ।  एक–एक खेल जित्दै एपीएफ र गण्डकीको समान २–२ अंक छ । सेमिफाइनलको टुंगो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार समूह बी अन्तर्गत गण्डकी र लुम्बिनी तथा दोस्रो खेल समूह सी अन्तर्गत रहेको  विभागीय टिम नेपाल पुलिस क्लब र मधेस प्रदेशबिच हुनेछ ।

कर्णाली विजयी

उता दीपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी२० प्रतियोगितामा कर्णाली प्रदेशले जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली ४ विकेटले जित निकालेको हो । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ विरुद्ध ११० रनको लक्ष्य पछ्याएको कर्णालीका लागि म्यान अफ दि म्याच समेत रहेका दीपेन्द्रले नट आउट रहँदै ३१ बलमा २ चौका र ३ छक्काको मद्दतले ४३ रनको इनिङ खेले । कर्णालीले १८।१ ओभरमा ६ विकेट गुमाउँदै १११ रन बनायो ।

टस जितेर इनिङको सुरुवात गरेको आयोजक रातोले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाउँदै १०९ रन बनायो । चार बल फेस गरेका आयोजकका कप्तान अमर मिश्र १ रन बनाउँदै अनुज चनाराको बलमा रविन्द्र शाहीको हातबाट क्याच आउट हुन पुगे । आयोजकका लागि निर्मल थापाले ३१ बलमा १७ रन, अंकित विएमले १८, निश्चल ज्ञवालीले १९, रोशन गौतमले २० बलमा ३० रन, सहजाद अलामले १६ रनको योगदान दिए ।

कर्णालीका लागि प्रकाश जैशीले २ विकेट हात पार्दा दिनेश अधिकारी र दिवान पुनले समान १–१ विकेट लिए ।

यता जवाफी ब्याटिङमा उत्रिएको कर्णालीका लागि दीपेन्द्र राउतले ४३, प्रकाश जैशीले १९ र निश्चल रावलले १५ रन बनाए । आयोजक रातोका लागि विप्राशन केसी र सन्तोष यादवले समान २–२ विकेट लिँदा सन्द्रश पराजुली र सुमित थापाले १–१ विकेट लिए ।

समूह ‘ए’मा रहेका दुवै टिम भने अन्तिम चारबाट बाहिरिएका छन् । सो समूहबाट बागमती लगातार दुई खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप