बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मङ्सिर २१ र २२ मा दुई दिने जिम्मेवार व्यवसाय सम्मेलन

आइतबार, ३० वैशाख २०८१, १७ : १३
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । यही मङ्सिर २१ र २२ गते राष्ट्रिय व्यावसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन आयोजना हुने भएको छ । विगत २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण यही मङ्सिरमा हुने भएको हो ।

सम्मेलनको नार ‘अडप्टिङ्ग टू इमर्जिङ्ग बिज्नेश रियालिटिस’ भन्ने नारासहित हुन लागेको आयोजक राष्ट्रिय पहलका अध्यक्ष कुशकुमार जोशीले बताए । यस सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवार पूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू मार्फत गहन छलफल गरिनेछ।

समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन्। वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी र नवीकरणीय ऊर्जा सम्बन्धी विषय रहनेछन्।

त्यसै गरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन्। कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहनेछ ।

३० भन्दा बढी वक्ताहरू रहने यस कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैङ्क तथा वित्तीय क्षेत्रको सहभागिता रहनेछ । विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदूषण तथा मानव अधिकारको संरक्षण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले सम्मेलन अझ बढी सान्दर्भिक हुने जोशीले बताए ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप