आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पोल्ट्री व्यवसाय

नेपाल पोल्ट्रीमा आत्मनिर्भर, दानामा परनिर्भर

बिहीबार, २७ वैशाख २०८१, १७ : ३६
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । नेपालको आत्मनिर्भर व्यवसायको रूपमा परिचित पोल्ट्री क्षेत्रमा बर्सेनि अर्बौँ रकमको दाना आयात हुन्छ । कुखुरालाई खुवाइने दाना सिधै नल्याए पनि दानामा प्रयोग हुने कच्चापदार्थ आयात हुने गरेको हो ।

 कुखुराको दाना बनाउन मकै र भटमास कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ भने सो पदार्थ ल्याउन बर्सेनि करिब अर्बौँ रकम खर्च भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा करिब दुई करोड किलो भटमास र मकै आयात हुँदा साढे एक अर्ब बराबर रकम खर्च भएको छ । साउन, भदौ, असोज र कार्तिकमा १ करोड ४६ लाख ५८ हजार किलो भटमास आयात हुँदा १ अर्ब २८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

 यस्तै, सोही समयावधिमा ४० लाख १८ हजार किलो मकै आयात हुँदा २६ करोड २२ लाख रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ । भटमास र मकै ब्राजिल, क्यानडा, बङ्गलादेश, भारत, चीन, अमेरिका लगायत मुलुकबाट आयात गरिन्छ । 

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा मकैको विभिन्न परिकार आयात भएको छ । चीन, भारत लगायत मुलुकबाट १ करोड ९ लाख किलोको हाराहारीमा मकैको विभिन्न पदार्थ आयात भएको छ । नेपालबाट ५८ करोड ४ लाख रुपैयाँ बाहिरिएको छ । 

यस्तै, आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ८ लाख किलो हाराहारीमा मकैको विभिन्न पदार्थ आयात भएको छ । ७२ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ ।

भटमास आयातमा पनि करोडौँ रकम खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७८÷७९ मा १४ करोड ३७ लाख किलो भटमास आयात हुँदा १२ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बाहिरिएको छ । 

यस्तै, आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷०८० मा १० करोड १ लाख किलोको हाराहारीमा भटमास आयात हुँदा ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ खर्च विभागको तथ्याङ्कमा उल्लेख छ । 

कुखुराको दानामा स्वदेशी उत्पादनले ३० प्रतिशत टेवा पुर्‍याएको छ । ७० प्रतिशत आयातित कच्चा पदार्थले तयार गरिएको कुखुराको दाना प्रयोग हुने राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए । 

‘पोल्ट्री छ, व्यवसाय छैन’

नेपालमा पछिल्लो समय पोल्ट्री व्यवसाय सङ्कटमा परेको व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । पोल्ट्री व्यवसायमा आत्मनिर्भर भए पनि तीन वर्षयता व्यवसाय भने घाटामा रहेको नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिका अध्यक्षमा शिवराम केसीले बताए । ‘पोल्ट्री व्यवसाय छ, तर घाटामा छ,’ उनले भने, ‘व्यवसायमा घाटा भई यो पेस कतिपयले छोड्नु पर्ने बाध्यता छ ।’ 

उनका अनुसार प्रतिगोटा अण्डा १४ रुपैयाँ उत्पादन लागत पर्ने तर किसानले ११ रुपैयाँ मात्रै पाएका छन् । ‘प्रतिगोटा अण्डामा ३ रुपैयाँ किसानलाई घाटा छ,’ उनले भने, ‘किसानले लागत मूल्य पनि पाएका छैनन् ।’ 

अध्यक्ष बेलबासेका अनुसार पछिल्लो समय कुखुराको खपत घटेसँगै लागत भन्दा कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने बाध्यता किसानको छ । ‘कुखुराको माग कम, उत्पादन बढी भयो,’ उनले भने, ‘यसले गर्दा किसानले लागत मूल्यसमेत उठाउन सकेका छैनन् ।’ 

नेपालमा कुखुराको तयारी मासु दैनिक ८ लाख किलो खपत हुने उनले बताए । तर पछिल्लो समय मासुको खपत घटेर व्यवसाय नभएको बेलबासेले गुनासो गरे । 

आत्मनिर्भर बनेको पोल्ट्री सङ्कटमा 

आत्मनिर्भर बनेको पोल्ट्री क्षेत्र सङ्कटमा परेको छ । उत्पादन लागत मूल्य समेत उठाउन धौधौ भएपछि सो क्षेत्र सङ्कटमा परेको व्यवसायले बताएका छन् । पोल्ट्री क्षेत्रमा उत्पादित वस्तुको मूल्य बिचौलियाको कारणले किसानले सही मूल्य पाउन नसकेको केसीले सुनाए ।  ‘किसानबाट प्रतिगोटा ११ रुपैयाँमा खरिद गरिएको अण्डा उपभोक्ताले प्रतिगोटा १६ देखि २० रुपैयाँ तिर्दैछन्,’ उनले भने, ‘यता किसानले लागत उठाउन सकेका छैनन्, उता उपभोक्ता ठगीमा परेका छन् ।’   

केसीका अनुसार उत्पादित वस्तुको बिक्री मूल्य घट्ने बढ्ने भए पनि कुखुराको दाना, भ्याक्सिन लगायतको मूल्य एकै हुने भएका पनि उत्पादन लागत बढी पार्न जान्छ । 

पोल्ट्री उत्पादनमा आयातित वस्तुले पनि असर पारेको बेलबासेले बताए । ‘खुला सिमानाका कारण लुकीचोरी कुखुरा, अण्डा आयात हुन्छ,’ उनले भने, ‘लुकाएर ल्याएको वस्तु सस्तो र हाम्रो उत्पादन महँगो पर्न जान्छ ।’

यस्तै, पछिल्लो समय मासुजन्य पदार्थको सेवनमा कमी देखिएको उनले बताए । यसो हुनुमा आर्थिक मन्दी, वैदेशिक रोजगारीका लागि मानिस बाहिरिनुलगायतका कारण हुन सक्ने उनले उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप