आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा नमुना वडा समाजवादी कार्यक्रम कार्यविधि स्वीकृत

बिहीबार, २७ वैशाख २०८१, १८ : ४८
बिहीबार, २७ वैशाख २०८१

हेटौडा । बागमती प्रदेश सरकारले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको हो ।

प्रदेश सरकारले गत आर्थिक वर्षदेखि समाजमा रहेका असमानता र विभेदको न्यूनीकरण गर्न नमुना वडा समाजवादी कार्यक्रम अघि सारेको थियो । गत आर्थिक वर्षदेखि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गर्दै आएको उक्त नमुना वडा समाजवादी कार्यक्रम चालु आर्थिक वर्षमा समेत कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाका अनुसार सरकारले चालु आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गरेको उक्त कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरेको हो । उत्त कार्यविधिका आधारमा प्रदेशका ११९ वटा स्थानीय तहका वडाहरुमा नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गरिने उनले बताए । मानव सुचकांकमा पछि परेका स्थानीय तहका नागरिकहरुको शिक्षा स्वास्थ्य, आर्थिक उपार्जन लगायतका विषयहरुमा काम गर्न सरकारले उक्त कार्यक्रम अघि सारेको उनले बताए ।

उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सो कार्यक्रम कार्यान्वयन गरिने छ । प्रदेश सरकारले गत आर्थिक वर्षमा उक्त कार्यक्रम कार्यान्वयनका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको मन्त्री लामाले बताए ।

उत्पादन र रोजगारी प्रवर्द्धनसहित आर्थिक र सामाजिक विकास व्यवस्थित गर्न र समाजमा रहेका सबै प्रकारका असमानता र विभेदको न्यूनीकरण गर्न सो कार्यक्रम ल्याइएको उनको भनाई छ ।

संविधानको परिकल्पना अनुसार समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख, समतामूलक र सुसंस्कृत समाजको निर्माण गर्न सेवा प्रवाहको जगको रुपमा रहेको वडास्तरबाट अभ्यास गर्ने गरी प्रदेश भित्रका केही वडाहरुको छनोट गरी नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्नेगरी बजेट व्यवस्था गरेको उनले बताए ।

त्यस्तै बैठकले मन्त्रिपरिषद् सामाजिक विकास मन्त्रालय अन्तर्गतको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेश स्तरीय संरक्षण नीति २०८० स्वीकृत गरेको छ भने बागमती प्रदेश बालबालिका सम्बन्धी नीति २०८० स्वीकृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप