आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नामिबिया टी—२० विश्वकपमा छानिने १९औँ राष्ट्र बन्यो

बिहीबार, २७ वैशाख २०८१, २० : २०
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । नामिबिया सन् २०२४ मा आयोजना हुने आईसीसी टी—२० विश्वकपमा छनोट भएको छ । नामिबिया आगामी टी—२० विश्वकपमा छनोट हुने १९औँ राष्ट्र बनेको हो । नामिबिया अफ्रिकी महादेशबाट टी—२० विश्वकपमा छानिएको हो । 

अफ्रिकी महादेशको अन्तिम चरणको छनोट प्रतियोगिता पनि नामिबियामै सञ्चालन भइरहेको छ । आयोजक नामिबियाले मंगलबार खेलिएको खेलमा तान्जनियालाई ५८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको हो । 

जारी छनोट प्रतियोगितामा नामिबियाको यो लगातार पाँचौँ जित हो । नामिबियाले पाँच खेलबाट १० अंक बटुलेको छ । सात राष्ट्र सम्मिलित छनोट प्रतियोगिताको अंक तालिकामा नामिबिया पहिलो स्थानमा छ । नामिबियाले छनोट प्रतियोगितामा अझै एक खेल खेल्न बाँकी छ । 

अंक तालिकामा चार खेल खेलेको युगान्डा ६ अंकसहित दोस्रो र समान खेल खेलेको केन्या पनि ६ अंकसहित तेस्रो स्थानमा छन् । चार खेल खेलेको जिम्बाबे चार अंकसहित चौथो र समान खेल खेलेको नाइजेरिया तीन अंकसहित पाँचौँ स्थानमा छन् । 

रुवान्डा र तान्जनिया भने छनोट प्रतियोगिताबाटै बाहिरिने निश्चित भइसकेको छ । अब सन् २०२४ मा छनोट हुने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । यही प्रतियोगिताबाट विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो लाग्नेछ ।

नेपालसहित १८ राष्ट्र भने यसअघि नै सन् २०२४ को टी—२० विश्वकपमा छनोट भइसकेका छन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । नामिबियाले यसअघि पनि विश्वकप खेलिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप