आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिला गाउँपालिकामा नक्सा पास गरेर मात्रै पक्की घर तथा भवन बनाउन पाइने

बिहीबार, २७ वैशाख २०८१, २० : ५२
बिहीबार, २७ वैशाख २०८१

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्रै पक्की घर तथा भवन बनाउन पाइने भएको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत भीमा कँडेलले जानकारी दिइन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्रै निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत कँडेलले भनिन्, “यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन । म कार्यकारी भएर आएदेखि  नक्सा पास तथा निर्माण इजाजतको लागि कार्यपालिकाबाट निर्णय गरेर कार्यविधि पारित गरी यस्तो व्यवस्था गरिएको हो ।  पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवनको निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि यस्तो व्यवस्था गरिएको हो । यसो गर्न नौवटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।” 

गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई  व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । नक्सा पास गरिसकेपछि निर्माण कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरु लागू गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप