आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्याक्सवेलको नाममा अर्को कीर्तिमान, के–के बन्यो रेकर्ड ?

शुक्रबार, २८ वैशाख २०८१, ०९ : ४०
शुक्रबार, २८ वैशाख २०८१

गुवाहाटी । ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्दतले अस्ट्रेलियाले रोमाञ्चक खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खलामा टोलीले पहिलो जीत हासिल गरेको हो ।

भारतले प्रस्तुत गरेको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम बलमा ५ विकेटको क्षतिमा पछ्यायो । अस्ट्रेलियाका लागि पुनः एकपटक म्याक्सवेल नायक बने । उनले ४८ बलमा १ सय ४ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । म्याक्सवेलले ८ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै, ट्राभिस हेडले ३५ तथा कप्तान म्याथ्यु वेडले २८ रनको योगदान दिए ।

यसअघि भारतले टस हारेर पहिले ब्याटिङ गरेको थियो । रुतुराज गाइकवाडको शतकीय इनिङ्सको मद्दतले भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २२ रन बनायो । गाइकवाडले आक्रामक पाली खेल्दै ५७ बलमा १ सय २३ रन बनाए । उनले यस क्रममा १३ चौका र ७ छक्का हिर्काए । कप्तान सूर्यकुमार यादवले ३९ र तीलक वर्माले ३१ रन बनाए ।

खेलमा के–के बन्यो रेकर्ड ?

  • २१ – गुवाहाटीमा अस्ट्रेलियालाई अन्तिम ओभरमा जीतका लागि चाहिएको रनको सङ्ख्या । अन्तर्राष्ट्रिय टी–२० खेलको २० औँ ओभरमा ओभरमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा धेरै रन हो । यसअघि सन् २०१६ को टी–२० विश्वकपको फाइनलमा वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध अन्तिम ओभरमा १९ रन सफलतापूर्वक पछ्याएको थियो भने गत वर्ष श्रीलंकाले पनि अस्ट्रेलियाविरुद्ध यही उपलब्धि हासिल गरेको थियो ।
  • ४ – टी–२० अन्तर्राष्ट्रिय खेलमा ग्लेन म्यासवेलको शतकको सङ्ख्या । उनले सर्वाधिक शतक बनाउने रोहित शर्माको कीर्तिमानलाई बराबरी गरेका छन् ।
  • ४ मध्ये ३ – रन पछ्याउँदा म्याक्सवेलको शतकको सङ्ख्या । कुनै पनि टी–२० अन्तर्राष्ट्रिय खेलमा यो सबैभन्दा धेरै हो । उनले केएल राहुल, बाबर आजम र मोहम्मद वसिमलाई उछिनेका छन् । सबै शतक नम्बर ४ वा सोभन्दा तल ब्याटिङ गर्दा बनेका हुन्, यो पनि कीर्तिमान नै हो ।
  • १२३ – रुतुराज गाइकवाडले खेलमा बनाएको रन । टी–२० अन्तर्राष्ट्रिय खेलमा कुनै पनि भारतीय ब्याट्सम्यानले बनाएको यो दोस्रो ठुलो व्यक्तिगत स्कोर हो । 

यसअघि शुभमन गिलले न्युजिल्याण्डविरुद्ध अहमदाबादमा १ सय २६ रन बनाएका थिए । गाइकवाडले बनाएको १ सय २३ रन कुनै पनि ब्याट्सम्यानले अस्ट्रेलियाविरुद्ध बनाएको सबैभन्दा ठुलो स्कोर हो । 

यसअघि सन् २०१० मा ब्रेन्डन म्याकुलमले १ सय १६ रन बनाएका थिए ।

  • १ – आफ्नो १ सयौँ टी–२० खेलमा शतक हान्ने म्याक्सवेल पहिलो खेलाडी हुन् । यसअघि रोहित शर्माले आफ्नो १ सयौँ खेलमा ८५ रन बनाएका थिए ।
  • ४७ – म्याक्सवेललाई शतक बनाउन लागेको बलको सङ्ख्या । उनले अस्ट्रेलियाका लागि सबैभन्दा चाँडो शतक बनाउने कीर्तिमान बराबरी गरेका छन् । यसअघि एरोन फिन्चले सन् २०१३ मा इंग्ल्याण्डविरुद्ध र जोस इंग्ल्सिले सन् २०२३ मा भारतविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।
  • २२३ – भारतविरुद्ध कुनै पनि टोलीले पछ्याएको सबैभन्दा ठुलो रनको लक्ष्य । यसअघि दक्षिण अफ्रिकाले गत वर्ष दिल्लीमा भारतविरुद्ध २ सय १२ रनको लक्ष्य पछ्याएको थियो । यो अस्ट्रेलियाले पछ्याएको दोस्रो ठुलो लक्ष्य पनि हो । सन् २०१८ मा टोलीले न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य पछ्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप