आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्लास्टिक 'चपाइदिने' इन्जाइमले कम गर्ला विश्वको फोहोर  ?

सोमबार, २८ जेठ २०८१, ११ : ५३
सोमबार, २८ जेठ २०८१

ओसाका । अनुसन्धानकर्ता सिन्तावी सुलेमानले सन् २०१० मा ओसाका विश्वविद्यालयको प्रयोगशालामा जागिर खान थालिन् । उनको काम नै विश्वविद्यालय बाहिर रहेको फोहोरको थुप्रोमा फेला परेको पात कुहाउने इन्जाइममा हेरफेर गर्ने र त्यसमा नयाँ नयाँ प्रयोग गर्नु थियो । सो इन्जाइमको नाम थियो, एलसीसी अर्थात् लिफ–ब्रान्च कम्पोष्ट क्युटिनेज । 

एलसीसीले पातको बाहिरी तहमा भएको चिल्लो सतहलाई टुक्राउन माइक्रोब्सलाई मद्दत गर्थ्यो । यसले प्लास्टिक पनि टुक्र्याउन मद्दत गर्ने आशा सुलेमानलाई थियो । एक दिन मध्याह्नमा उनले हेडफोन प्याक गरेर आएको प्लास्टिकलाई काटेर टुक्रा टुक्रा पारिन् अनि ती टुक्रालाई पानीमा एलसीसीको केही नमुनाको साथमा रातभर भिज्न छाडिदिइन् । बिहानसम्म प्लास्टिकका टुक्राहरूमा कतै प्वाल त कतै छिया छिया भएको पाइयो । त्यो प्लास्टिक पोलिमर थियो । पोलिमर प्रकृतिमा सर्वत्र भेटिन्छन् । तर यो सबैभन्दा धेरै भने रुख वा अन्य बोटबिरुवाको सेल्युलोजमा पाइन्छन् ।

एलसीसीले पोलिमरको केमिकल बन्डलाई टुक्राएर माइक्रोबले त्यसलाई टुक्र्याउन सक्ने बनाइदियो । इन्जाइम केही दशकौँदेखि मात्रै प्लास्टिकसँगको संसर्गमा आएका हुन्, त्यसैले पनि यसले प्लास्टिकलाई कुहाउन पर्याप्त समय पाएन । तर गएको केही दशकमा वैज्ञानिकहरूले कुहिने प्रक्रियालाई तीव्र पार्ने तरिका फेला पारेका छन् । गएको ८ वर्षमा वैज्ञानिकहरूले पुनः डिजाइन गरेर एलसीसीलाई एलसीसीआईसीसीजी बनाए । यो इन्जाइमले अब भने पेट पोलिमरलाई पूरै टुक्रा टुक्रा बनाउन सक्छ । आफूहरूले सो इन्जाइमलाई मोलिकुलर कैँचीको रूपमा प्रयोग गरिरहेको फ्रान्समा टुलुज विश्वविद्यालयका प्राध्यापक अलेन मार्टी भन्छन् । यसलाई उनले मुगाको नेकलेस टुक्रिनुसँग तुलना गरेका छन् । 

फ्रान्सको कार्बायोस्मा पेट प्लास्टिकको प्रशोधन गर्न सानो ब्रुअरी जस्तै कारखाना छ । यस कारखानाले पोलिस्टर धेरै प्रयोग गरेर बनाइएका कपडा प्रशोधन गर्छ । यसरी प्रशोधन गरिएका कपडाहरू जलाइन्छ वा विकासशील विश्वका ‘डम्पिङ साइट’मा फ्याक्न पठाइन्छ । कम्पनीले आफ्नो सञ्चालन व्यापक रूपमा बढाउन खोजिरहेको छ । सन् २०२५ सम्ममा उत्तर पूर्वी फ्रान्समा समेत बर्सेनि ५० हजार टन पेट वेस्ट (करिब ३० करोड ओटा टी–सर्ट वा दुई अर्ब बोतल बराबर) रिसाइकल गर्ने कारखाना खोल्ने योजना कम्पनीको छ । इन्जाइमका अन्य भेराइटीको साथमा पोलिमरलाई कसरी रिसाइकल गर्न सकिन्छ भनेर अन्य अनुसन्धान टोलीहरूले पनि काम गरिरहेका छन् ।

तर यी मध्ये कुनै पनि टोली आफ्नो प्रशोधन प्रक्रियालाई बढाउन सक्ने अवस्थामा छैनन् । यसरी पोलिमरबाहेकका अन्य प्लास्टिक प्रशोधन गर्न सकिने कुरामा अन्य केही विज्ञहरू कम आशावादी छन् । केही प्लास्टिकको रिसाइकल गर्नै नसकिने अनि यस्ता प्लास्टिकको प्रयोग नै बन्द गर्नु पर्ने एक थरी विज्ञहरू बताउँछन् । विश्वमा १० प्रतिशतभन्दा कम प्लास्टिक मात्रै रिसाइकल गर्ने गरिएको छ । हरेक वर्ष विश्वभर ४० करोड टन प्लास्टिकको फोहोरमध्ये आधा फोहोर फ्याँक्ने ठाउँमा जान्छ । कार्बायोस्ले नाइलनजस्ता जटिल केमिकल संरचना भएका प्लास्टिकतिर पनि ध्यान दिइरहेको छ । तर यसलाई टुक्राउन विल्कुल फरक खालको इन्जाइम चाहिने प्राध्यापक मार्टी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप