आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री जम्कट्टेलले आह्वान गरे सर्वदलीय बैठक

सोमबार, १८ मङ्सिर २०८०, २० : ०५
सोमबार, १८ मङ्सिर २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । उनका अनुसार प्रदेश सभामा रहेका समितिको सभापतिको टुंगो लगाउन सर्वदलीय बैठक आह्वान गरिएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले बुधबार मन्त्रीहरुसँग नीति तथा कार्यक्रम कार्यान्वयनको समस्या, कर्मचारीहरुको सहयोग, कार्यक्रम कार्यान्वयनको प्रगतिको अवस्था लगायतका विषयमा छलफल गरिएको छ । बैठकमा हरेक महिना मन्त्रीहरुले मुख्यमन्त्रीसँग कार्य प्रगतिका विषयमा ब्रिफिङ तथा रिपोर्टिङ गर्ने गरी बैठक बस्ने निर्णय गरिएको छ भने बजेट पारित गर्दाको समयमा प्रतिपक्षहरुसँग गरेको सम्झौताका विषयमा पनि छलफल गरिएको छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार बजेट पारित गर्दाका बखत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग ४५ करोड रुपैयाँ र राप्रपासँग २५ करोड रुपैयाँको योजना दिने सहमति सरकारले गरेकाले उक्त सम्झौता कार्यान्वयनका लागि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीहरुसँग छलफल गरेका हुन् । उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी  कार्यक्रम (संसद् विकास कोष) कार्यान्वयनको विषयमा समेत छलफल गरिएको बैठकमा सहभागी ती मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार अख्तियार अनुसन्धान दुरुपयोग आयोगले बजेट तथा कार्यक्रममा नयाँ योजना थप नगर्न २२ बुँदे सुझाव पठाएपछि उक्त निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयनका विषयमा छलफल गरिएको हो । प्रदेश सभाबाट पारित भइसकेको उक्त कार्यक्रम कार्यान्वयनका विषयको मोडलका बारे छलफल भएको छ । प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रति सांसद ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै उक्त बैठकमा गत आर्थिक वर्षमा भुक्तानी हुन नसकेका निर्माण व्यवसायीहरुको रकमका विषयमा पनि छलफल भएको ती मन्त्रीले बताए । प्रदेश सरकारको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले पूजिगत खर्च बढाउने विषयमा पनि मन्त्रीहरुसँग चासो व्यक्त गरेको ती मन्त्रीको भनाई छ ।

प्रदेशमा आएका सचिव तथा कर्मचारीहरु छोटो समयमा सरुवा लिएर हिँड्ने प्रवृत्ति बढेकाले उक्त समस्याका विषयमा पनि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीहरुसंग छलफल गरेको उनको भनाई छ । मन्त्रालयहरुका समस्या र अन्तर सम्बन्धका विषयमा सहजिकरण गर्ने मुख्यमन्त्री जम्कट्टेलले छलफल गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप