आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले नेता ऐन महरको भनिएको अडियो सामाजिक सञ्जालमा छताछुल्ल *

बिहीबार, ०६ वैशाख २०८१, २० : ३१
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरको भनिएको एक अडियो यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । एक जना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक सञ्जालमार्फत बाहिरिएको हो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरले भने सो अडियोबारे आफूले सामाजिक सञ्जालबाट नै थाहा पाएको रातोपाटीलाई बताए । उनले सार्वजनिक अडियो फेक भएको पनि दाबी गरे । उनले भने, ‘मेरो नाम जोडेर फेक अडियो आएको रहेछ, मैले पनि सञ्जालबाट थाहा पाएँ ।’

अनेरास्ववियुका पूर्व अध्यक्ष महरले आफ्नो विरुद्ध लागेकाहरूले योजनाबद्ध रूपमा नक्कली अडियो बाहिर ल्याएको भन्दै कानुनी उपचारमा लाग्ने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘पार्टीको कार्यक्रममा अहिले डडेलधुरामा छु, काठमाडौँ फर्केपछि त्यसविरुद्ध कानुनी उपचारमा जान्छु ।’

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए ।

सार्वजनिक अडियोमा आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ती पुरुषले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । अडियोमा पुरुषले ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका छन् । 

संवादको बिचमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गरेका पुरुषले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएको अडियोमा सुनिएको छ । महिलाले दुई जनाको बिचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न पुरुषले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् ।

करिब ८ मिनेटको सो अडियोमा महिलाले घटना सार्वजनिक गर्न खोजेपछि पुरुषले दबाब र धम्की दिएको आरोप लगाइएको छ । संवादमा महिलाले भनेकी छन्, ‘मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?’ 

सामाजिक सञ्जालमार्फत बाहिरिएको संवाद यस्तो छ-ः  

पुरुष: म चाहिँ विश्वास र माया हो ।

महिला: मैले चाहिँ विश्वास गरेका हैन ?

पुरुष: हिजो जसरी म तँलाई बर्बाद पार्छु सिध्याउँछु तिमिले दुनियाँ कुरा जुन भन्यौँ त्यो कुराले म असाध्यै अचम्मित भयभीत र त्रसित भा’को हु । तिमीसँगको जुन माया र विश्वास थियो अब त्यो चाहिँ रहेन ।

महिला: अब के रह्यो त बाँकी ? म सँग पनि विश्वासको कुरा नै रहेन निँ तपाईँको ।  

पुरुष: मैले जे कुरा भनेपछि अन्यत्र लगेर सुनाउँदा रहेछौ । अरूको कुरा सुनेर मसँग झगडा गर्न आउँथ्यौ ।

महिला: यति नराम्रो बनाउनु भो, तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या ?

पुरुष: छैन, चरित्रहीन हैन । मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेको । तिमीले मसँग सम्बन्ध भयो भनिरहँदा मैले होइन, उसले रिसले भनिरहेको छ भनेर मैले जोगाएको हुँ ।

महिला: मैले त सवैलाई (परिवार)मा भनेँ नि त । अब १० चोटि कत्ति एउटै कुरा गर्ने ? तपाईँले औषधी किन्देको भए केही हुने थिएन । तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको हो क्या । तपाईँले मलाइ जस्ट युज मात्रै गरेको रै’छ मलाई थाहा भयो । म कति रोएँ क्या त्यो बेला ।

पुरुष: युज को कुरा गर्छौ, युज त तिमीले मलाई गरेको फिल भैराछ । 

महिला: सेक्स गरेको भनेर औषधि किन्दिनु भनेर म (उसलाई) भन्नु ?

पुरुष: तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?

महिला: नोबाल्नु नत, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।

पुरुष: ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?

महिला: मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?

पुरुष: मैले भाइहरूलाई पनि बोलाएर भनेँ । गल्ती भयो भाइ हो, ऊसँग नजिक थिएँ भनेको छु । तर, धम्की दिएको छैन ।

महिला: धम्की किन दिएको छैन, घर वरपर आएर ? मलाई मार्ने भए मार्नु, म तपाईंकै अगाडि मर्दिन्छु ।

पुरुष: मर्ने मार्ने कुरा नगर, मलाई मार्नु पनि छैन । मेरो कुरा के भने, तिम्रो पनि इज्जत जोगियोस् भविष्य बनोस् ।

महिला: मेरो त भविष्य खतम भैसकेको छ । डिभोर्स गर्छु । तपाईँको के हो ?

पुरुष:  डिभोर्स नगर, मिलेर बस । जुन तिमीहरू मिलेकै छौँ नाटक जस्तो लागिरा’छ तिमीहरूको । अहिले मेरा विरुद्ध पनि सँगै हिँडिरहेका छौ । तर, हिजो जसरी भन्यौ म रातभर सुत्न सकेको छैन । डिभोर्स नगर, मिलेर बस त्यसको लागि के वातावरण बनाउनुपर्छ , मैले के सहयोग गर्नुपर्छ ? आत्मीयता, साथ सहयोग मेरो रहन्छ । कहिल्यै नराम्रो गर्दिनँ, नराम्रो सोच्दिनँ ।

महिला: आज भने आज भोलि भने भोलि डिभोर्स दिन्छु, साइन गर्न बाँकी त हो नि ! 

( यसअघि सम्पादनका क्रममा असावधानीबस भएको त्रुटी सच्याइएको छ l ) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप