आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दूध सङ्कलन र बिक्रीमा मधेस प्रदेशकै पहिलो डुमरवाना दुग्ध उत्पादक सहकारीमा नयाँ  नेतृत्व चयन

शुक्रबार, ३२ जेठ २०८१, ०६ : २०
शुक्रबार, ३२ जेठ २०८१

बारा । दूध सङ्कलन र बिक्रीमै मधेस प्रदेशकै सबैभन्दा ठुलो दुग्ध सहकारी संस्था, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थामा होमनाथ पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार भएको २८ औ अधिवेशन तथा वार्षिक साधारण सभाको अवसरमा पण्डितको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसमा उपाध्यक्षमा नारायण प्रसाद घिमिरे, सचिव सम्झना चौलागाँई, कोषाध्यक्ष नीलकण्ठ सापकोटा र सदस्यहरूमा चित्रकला बराल, सिता काफ्ले, रामप्रसाद अधिकारी,कुमार पुरी, राजेन्द्र प्रसाद जमकट्टेल, सुनिल मैनाली, खिमा कटुवाल भट्टराई, नरबहादुर आलेमगर, र शिवकुमार कार्की रहेका छन् । 

सोही अधिवेशनले तेजप्रसाद चौलागाँईको नेतृत्वमा लेखा सुपरिवेक्षण समिति गठन गरेको छ जसमा रमेश कुमार सापकोटा र सानु बर्तौला सदस्य रहेका छन् । ४ वर्षे कार्यकालका लागि शुक्रवार भएको अधिवेशनले नयाँ सञ्चालन समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको हो ।

डुमरवाना दुग्ध उत्पादक सरकारी संस्थामा २ हजार ६८९ जना किसानहरु आवद्व छन् जसले मासिक करिब ३ करोडको दूध उत्पादन गरेर सहकारी संस्थालाई बिक्री गर्ने गर्दछन् । 

संस्थाले दैनिक १२ हजार लिटर दूध किसानहरूबाट सङ्कलन गरेर बजारसम्म पुर्‍याउने गर्दछ । चालु आर्थिक वर्षमा संस्थाले सम्पूर्ण सेवा सुविधाहरू कटाएर ७७ लाख नाफा कमाएको संस्थाका निर्वतमान अध्यक्ष टिकाराम न्यौपानेले जनाएका छन् । 

दैनिक ४ देखि ५ हजार लिटर दूध कलैया, वीरगञ्ज, जितपुर, अम्लेखगञ्ज र आंशिक रूपमा हेटौडा बजारसम्म पुर्‍याउने गर्दछ भने बाँकी  दूध पाउडर बनाएर राख्ने र माग अनुसार बिक्री गर्ने गर्दछ । 

dd4

दूध उत्पादन बढी भएर अन्य क्षेत्रमा ‘मिल्क होलिड’ चलिरहेको बेला डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले भने सो समस्या झेल्नु नपरेको संस्थाका निर्वतमान अध्यक्ष न्यौपानेले जनाएका छन् । 

संस्थाले पशु पालक कृषकहरूका लागि ५० प्रतिशत अनुदानमा बिउ बिजन, पशु खरिदका लागि ऋण लगानी गर्ने र पशु स्वास्थ्य बिमा लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । दूध सङ्कलन र बिक्रीमा मधेस प्रदेशकै सर्वोत्कृष्ट संस्था भएकै कारण सङ्घीय र प्रदेश सरकारबाट यसअघि संस्थालाई पटक पटक सम्मान समेत प्राप्त गरेको छ । 

नवनिर्वाचित अध्यक्ष होमनाथ पण्डितले आफ्नो कार्यकालमा कृषकहरूलाई मनोबल खस्किने र निराश हुन नदिने प्रतिबद्धता जनाएका छन् । ‘१३ वर्षदेखि निरन्तर म यो संस्थामा काम गर्दै आएको हुनाले विगतका अप्ठ्याराहरुलाई सम्झेर हाम्रो टिमले अहोरात्र खटेर दुग्ध उत्पादक कृषकहरुको मनोबललाई उच्च  बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउँदछौ’ अध्यक्ष  पण्डितले भने । 

पण्डितले दुग्ध सहकारीको अध्यक्ष पदका लागि नगर सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा उपमहानगरले शुक्रबार नै स्वकृत गरेको छ । 

आज भएको अधिवेशनमा संस्थाले सर्वोत्कृष्ट किसान २०८० बाट सबैभन्दा धेरै दूध बिक्री गर्ने शंकरराज अर्याल, नीलकण्ठ सापकोटा र ब्रदर्श मल्टि प्रपोज एग्रो फर्मलाई सम्मान गरेको छ । 

dd5

उत्कृष्ट कर्मचारी २०८० बाट विष्णु बस्ती, मुक्तिनाथ पौडेल, दुर्गा अधिकारी, नवराज सुवेदी सम्मानित भएका छन् । भने  उत्कृष्ट व्यापारी २०८० बाट रामशरण पन्त र सञ्चारकर्मी विदुर खड्का सम्मानित भए । 

कार्यक्रममा जीतपुर सिमरा उपमहानगर नगरप्रमुख राजन पौडेलले किसानहरूको हितमा योजना बनाएर ल्याएर पालिकाले सहयोग गर्ने जनाएका छन् । नयाँ कार्यसमिति चयनको लागि निर्वाचन समितिमा उपमहानगर सहकारी महाशाखा प्रमुख सुदन चौधरीको नेतृत्वमा जनता मावि रजघट्टा र विभूति शिक्षा सदन डुमरवानाका प्रधानाध्यापक राजु अधिकारी र श्याम भट्टराई सदस्यमा रहेका थिए ।

dd6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप