सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारको तथ्याङ्कले भनेजस्तै अर्थतन्त्र सही दिशामा छैन : अध्यक्ष अग्रवाल

बिहीबार, २१ मङ्सिर २०८०, २१ : ००
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारले भनेजस्तो अर्थतन्त्र ठिकठाक नभएको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औं वार्षिक साधारण सभामा बोल्दै सरकारले भनेजस्तो अर्थतन्त्र लयमा नरहेको बताएका हुन् ।

मन्त्री र गभर्नरले देखाएका तथ्याङ्कहरूमा आफ्नो कुनै विमति नभए पनि ‘ग्राउन्ड रियालिटी’ भने फरक रहेको अग्रवालले भने । ‘विदेशी मुद्राको सञ्चिति अहिले १५ खर्ब पुगेको छ, आन्तरिक अर्थतन्त्र चलायमान नभए २५ खर्ब पुगे पनि केही हुँदैन,’ उनले भने, ‘उद्योगी व्यवसायीले घाँटी हेरेरै हड्डी लिएका हुन्छन्, बिना योजना व्यवसायीले ऋण लिएका छन् भनेर भन्ने कुरा साँचो हैन ।’
 
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले राजस्वमा ८० प्रतिशत योगदान दिएको निजी क्षेत्र अहिले मर्कामा रहेको बताए । पसल र सटरहरु बन्द हुने क्रम देशव्यापी रूपमा बढिरहेकाले राज्यले जेसुकै भने पनि निजी क्षेत्रले बोलेको आवाज नै वास्तविक आवाज भएको अग्रवालले बताए । ‘बैंकको ब्याज तिर्न नसकेर व्यवसायीहरू छटपटाइरहेका छन्, जताततै सटर खाली भएका छन्,’ उनको भनाई छ, ‘निजी क्षेत्र कर्जाको पुनर्तालिकीकरण र कर्जाको ब्याजदर एकल अंकमा झर्ने पर्खाइमा रहेको छ ।’

उनले बैंक तथा वित्तीय संस्थामा अहिले तरलता सहज भए पनि कर्जा लगानी हुन नसकेको तर्फ सोचेर नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले ब्याजदर बढाउन विगतमा राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गरेको स्मरण गर्दै अहिले पनि ब्याज घटाउन सोही किसिमको हस्तक्षेप आवश्यक रहेको बताए । चालुपुँजी कर्जा निर्देशिकाले व्यवसायीलाई समस्या पारेको भन्दै उनले केही दिन अघि राष्ट्र बैंकले कालो सूचीसम्बन्धी व्यवस्थामा केही लचकता अपनाउनुलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको बताए । सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने भने पनि त्यसको तयारी पर्याप्त हुन नसकेको बताए ।

त्यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले आर्थिक मन्दी लम्बियो भने देश अझै सङ्कटमा फस्ने जोखिम रहेको बताए । उनले उद्योगी व्यवसायीहरू भनेका करदाता भएकाले उनीहरूलाई करदाताको रूपमा व्यवहार गर्न सरकारसँग माग गरे । ‘अर्थतन्त्र मन्दीमा छ, असहज अवस्थामा छ, देश आर्थिक रूपमा दुर्घटनाको नजिक पुगेको छ,’ उनले भने, ‘यसका लागि निजी क्षेत्रले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल पनि गरिरहेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय कार्यकारिणी सदस्य तथा राजस्व समिति सभापति अम्बिकाप्रसाद पौडेलले सरकारले व्यवसायीलाई पेलेको बताए । उनले व्यवसायीको डेढ खर्ब पैसा सरकारले चलाएको भन्दै अर्बाैं रुपैयाँ भ्याट फिर्ता नगरेको गुनासो गरे । ‘डेढ खर्ब रुपैयाँ व्यवसायीको पैसा सरकारले चलाएको छ, व्यवसायीले बक्यौता तिर्न बाँकी छ भनेर सरकारले भन्दै आएको मात्र छ, तर ५ वर्षको एडभान्स कर सरकारले फिर्ता गरेको छैन,’ उनले भने, ‘निर्माण व्यवसायीको करोडौँ भुक्तानी गरेको छैन । व्यवसायीलाई भने एक दिन कर तिर्न ढिला भयो भने पेनाल्टी लगाइन्छ ।’

सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा भए पनि रथ हाँक्ने घोडा र पाङ्ग्रा निजी क्षेत्र नै भएकाले सरकार केबल चालक मात्रै भएको उनको भनाइ छ । यदि चालक गतिलो भएन भने सही गन्तव्यमा पुग्न नसकिने पौडेलले बताए । कार्यक्रममा नेपाल निर्जीवन बिमक व्यवसायी संघका महासचिव महेन्द्र श्रेष्ठले बीमाको पहुँच बढाउन सरकारले नै नीतिमा सुधार गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप