सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुई स्काभेटरसहित चिनियाँ नागरिक पक्राउ, वन कार्यालयले अनुसन्धान गर्दै

सोमबार, २८ जेठ २०८१, १३ : ३६
सोमबार, २८ जेठ २०८१

सिरहा । डिभिजन वन कार्यालय सिरहा, लहानले चाइना रेल्वे कम्पनीमा कार्यरत चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।  

महेन्द्र राजमार्ग विस्तारका लागि चाहिने बालुवा, गिटी उत्खनन गर्ने क्रममा वन कार्यालयले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका लहानका प्रमुख सुजितकुमार झाका अनुसार चिनियाँ कम्पनीले मापदण्ड विपरीत लहान नगरपालिकाको वडा नम्बर १५ स्थित खुट्टी खोलामा गिटी बालुवा उत्खनन गरिरहेको दुई वटा स्काभेटर र चालकलाई वन कार्यालयबाट खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

दुई जना चालक पक्राउ परेपछि फिल्ड इन्चार्ज छ्याङ फरार थिए । उनलाई वन कार्यालयका वन रक्षकले मङ्सिर १५ गते लहानबाट पक्राउ गरेको थियो । उनलाई अहिले वन कार्यालयको हिरासतमा राखिएको प्रमुख झाले बताए ।

उक्त घटना अनुसन्धानका लागि अनुसन्धान अधिकारी तोकिएको छ । अनुसन्धानपछि आउने परिणामका आधारमा मुद्दामा जाने कि नजाने भन्ने निर्णय लिने झाले बताए ।

लहान नगरपालिकाले वातावरण अध्ययन बिना नै चिनियाँ कम्पनीलाई उत्खनन गर्न ठेक्का दिएको थियो । प्रमुख झाले नगरपालिकाले गरेको सम्झौता अनुसार प्रतिदिन २०१ घनमिटर बालुवा, गिटीमात्र उत्खनन गर्नुपर्नेमा चिनियाँ कम्पनीले डेढ घण्टामा ३९० घनमिटर गिटी, बालुवा उत्खनन गरेको बताए ।

वन नियमावली अनुसार गिटी, बालुवा उत्खनन गर्दा प्रतिघनमिटर ९ रुपैयाँ राजस्व बुझाउनुपर्छ तर नगरपालिकाले प्रति घनमिटर ६ रुपैयाँमा सम्झौता गरेको छ ।

त्यसैगरी, सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा सोही कम्पनीले उत्खनन गरिरहँदा त्यहाँ पनि चालकसहित गाडी नियन्त्रणमा लिइएको छ ।

धनगढीमाई नगरपालिकाको वन क्षेत्रमा पर्ने सर्रे खोलामा अवैध रुपमा जेसीबी प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा र ट्याक्टर चालक धनगढीमाइका राम कुमार यादव, अरविन्द कुमार यादव, रमन किशोर यादव, पुरुषोत्तम यादव, ईन्द्रजित महतो, बरियारपट्टी गाउँपालिका वडा नम्बर २ का संदिप कुमार महतो र नरहा गाउँपालिकाका फूल कुमार यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप