धाख्वालाई रात्रिकालीन टेबल टेनिसको पहिलो स्वर्ण
ललितपुर । ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालीन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ६० वर्ष माथीको इभेन्टमा आनन्द धाख्वाले स्वर्ण पदक जितेका छन्।
मङ्गलवार सम्पन्न फाइनलमा वडा नम्बर १० धाख्वाले बडा नम्बर १९ का जगदीश्वर प्रसाद जोशीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। धाख्वाले जोशीलाई ११-४, ११-४, ११-७ ले हरायो।
यसअघि सेमिफाइनलमा जोशीले वडा नम्बर १६ का धर्मेन्द्र शाक्यलाई तथा धाख्वाले वडा नम्बर ५ का पूर्ण शङ्कर श्रेष्ठलाई पराजित गरेका थिए।
त्यसैगरी ५० वर्षमाथिको इभेन्ट्समा बडा नम्बर १६ का प्रकाश धाख्वा, बडा नम्बर २० का संघ बज्राचार्य, बडा नम्बर १९का निशान प्रधान, बडा नम्बर ९ का किरण ब्यञ्जनकार, बडा नम्बर ११ का नदिम रत्न शाक्य र बडा नम्बर २० का सुरेश बज्राचार्य क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।
गत मंसिर १२ गतेबाट शुरु भएको रात्रिकालीन टेबल टेनिस प्रतिस्पर्धामा विभिन्न १५ इभेन्ट्समा ५ सय भन्दा बढी खेलाडीहरूले सहभागिता जनाइरहेका छन्।
प्रतियोगिताको तेस्रो दिन खेलकै क्रममा मूल आयोजक समितिका सचिव तथा खेलाडी पुष्पराज शाक्यको निधन भएपछि खेल एक हप्ता स्थगित गरिएको थियो।
ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरू वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन भइरहेको छ।
कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।