आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नातिनातिनासँगै बढ्छ हजुरबा–आमाको उमेर

आइतबार, ०६ जेठ २०८१, १४ : २७
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । स्वीटजरल्यान्डको युनिभर्सिटी अफ बसेलमा हालै एउटा अध्ययन भएको थियो । अध्ययनमा आफ्नो नाति–नातिनासँग बस्ने, उनीहरुको हेरचाह गर्ने, उनीहरुको साथमा समय बिताउने गर्दा हजुरबुबा हजुरआमाको स्वास्थ्यमा सकारात्मक असर पर्छ कि भनेर हेर्न खोजिएको थियो । नाति–नातिना, पनाति–पनातिनीहरूसँग बस्ने वृद्धवृद्धाहरु नबस्नेहरुको तुलनामा बढी स्वस्थ भएको र उनीहरुको आयु पनि लामो भएको अध्ययनको नतिजाले देखाएको छ ।

बच्चाको राम्रो स्वास्थ्य, उसको मानसिक र भावनात्मक विकासको लागि हजुरबुबा हजुरआमा कत्ति जरुरी छन् भनेर अक्सफोर्ड विश्वविद्यालय र अटलान्टा विश्वविद्यालयले पनि अध्ययन गरेका थिए । अध्ययनका अनुसार जुन बच्चाको आफ्नो हजुरबुबा हजुरआमासँग सम्बन्ध घनिष्ठ छ, ती बच्चाको भावनात्मक व्यवहार बढी सन्तुलित भएको पाइयो । ती बच्चाको पढाइमा प्रदर्शन पनि राम्रो थियो ।

बा आमाले बढी माया गरेर छोराछोरी बिगार्छन् भन्ने अधिकांश मातापितालाई लाग्न सक्छ । तर अक्सफोर्डको अध्ययनले यो धारणाको ठिक उल्टो दाबी गरेको छ । अक्सफोर्ड विश्वविद्यालयका डिपार्टमेन्ट अफ सोशल स्टडी एन्ड सोशल रिसर्चका प्राध्यापक एन बुकाननले यो अध्ययनको नेतृत्व गरेका थिए । बुकानन र उनको टिमले १ हजार ५०० बच्चाहरूलाई नजिकबाट अध्ययन गरेका थिए । अध्ययनमा हजुरबुबा हजुरआमासँग बस्ने र उनीहरुसँग भावनात्मक लगाव भएका, सँगै नबस्ने र कुनै भावनात्मक लगाव नभएका दुबै खाले बच्चाहरु थिए ।

जो बच्चाहरु हजुरबा हजुरआमासँग बस्थे, उनीहरुसँग बढी समय बिताउँथे तिनीहरुको सामाजिक, भावनात्मक व्यवहार, पढाइमा प्रदर्शन अन्य बच्चाको तुलनामा राम्रो थियो । यस्तै खालको अध्ययन केही समयअघि अटलांटामा पनि भएको थियो । अध्ययनका अनुसार हजुरबा हजुरआमाहरुको लगाव आफ्नो छोराछोरीसँग भन्दा धेरै नाति नातिनासँग भएको पाइयो । नेपालीमा एउटा उखान छ नि ‘साँवाको भन्दा ब्याजको माया’ । हो ठ्याक्कै त्यस्तै । वृद्ध पुस्तासँग समय बिताउन नपाएका, एक्लै हुर्किएका बच्चाहरूलाई वयस्क भएपछि सम्बन्ध बनाउन र ती सम्बन्ध निर्वाह गर्न पनि गाह्रो हुने गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप