मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ गतेदेखि

आइतबार, ०६ जेठ २०८१, १५ : ०८
आइतबार, ०६ जेठ २०८१

ललितपुर ।  ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा दोस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही पुस ३ गतेबाट हुने भएको छ ।

प्रतियोगितालाई ललितपुर नगरपालिकाको मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शीर्ष २० वरीयता बाहेकको पुरुष युगल र ४५ वर्ष माथिको भेट्रान्स युगल (खुला) गरी ६ विधामा प्रतिस्पर्धा गराइने आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जनले जानकारी गराएका छन् ।

करिब ३० लाख लागत रहेको प्रतियोगितामा पुरुष एकल र महिला एकल तर्फ विजयी खेलाडीहरूले नगद ४० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै उपबिजयी खेलाडीहरूले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । 

यस्तै तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजयी जोडीले नगद २० हजार र तेस्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

 यु —१७ छात्र/छात्रा तथा भेट्रान्स युगल तर्फका विजयी खेलाडीहरूले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई भव्य र सभ्य रूपमा सञ्चालन गर्नका लागि नेपाल ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष ध्रुव महर्जनको संयोजकत्वमा प्रतियोगिता मूल समारोह समिति गठन गरिएको छ ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमा ५ दिन सम्म सञ्चालन हुने प्रतियोगिता बिश्व ब्याडमिन्टन महासंघ, एशियन ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाइने छ । प्रतियोगितामा फिदर सटल कर्कको प्रयोग गरिने आयोजकले जनाएका छन् । वरीयता प्रतियोगिता समेत रहेको प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ सँग आबद्ध जिल्ला, क्लब र अन्य गरी करिब ४०० खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिहानको खाजा तथा खानाको व्यवस्था आयोजकले गरेका गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप