आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन प्रकरण

न्यूरोडको सुन पसलमा छापा : ७ किलो ८ सय ग्राम सुन अवैध बाटोबाट ल्याएको प्रहरी निष्कर्ष

दुईवटा पसलबाट ३९ लाख ५० हजार नगद पनि बरामद
आइतबार, ०६ जेठ २०८१, १६ : १७
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको छ । न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र  ‘कैलाश ज्वेलर्स प्रा.लि’मा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–७ घर भएका पदमप्रसाद पाण्डे छन् । ४१ वर्षीय पाण्डे हाल नागार्जुन नगरपालिका–२ स्थित सानो भर्‍याङमा बस्छन् । सुन पसलमा भेटिएको सुनका बिस्कुट र गहना प्रहरीले बरामद गरेको छ । बरामद सुन थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । दुईवटा पसलबाट बरामद गरिएको सुन र ४१ सय डलर राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

बरामद गरिएको सुन अवैध बाटोबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुबई र चीनबाट आरोपीले भन्सार छलेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी रेग्मीले बताए । उनले भने–‘सुन अवैध तरिकाले काठमाडौँ ल्याएको आशङ्का गरिएको छ, थप अनुसन्धान हुँदै छ ।’

सुन पसलमा ३९ लाख ५० हजार नेपाली रुपैयाँ भेटिएको छ । पाण्डेले नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि अनुसन्धान कार्यालयले उनलाई राष्ट्र बैङ्क कसुरमा मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप