आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला हिंसा अन्त्यका लागि एकजुट भएर लागौँ : मन्त्री आचार्य

सोमबार, २८ जेठ २०८१, १७ : ०१
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन् । 

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याए । मन्त्री आचार्यले महिला हिंसाविरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताए । उनले महिलालाई आर्थिक रूपमा सम्पन्न गराएर उनीहरूमाथि हुने सबै प्रकारको विभेद गर्ने अभियान सरकारले अघि बढाए पनि त्यसका लागि विनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको गुनासो गरे । मन्त्री आचार्यले महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने स्पष्ट पारे । 

उनले भने, ‘हामी सबैलाई महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, कुरीतिको अन्त्य गर्न एकजुट भएर लागौँ भनेर आह्वान पनि गर्न चाहन्छु । महिलामाथि हुने हिंसा र दुर्व्यवहार हटाउन हामीले यतिबेला ३ वटा कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ । पहिलो, संविधान र कानुनले जतिसुकै व्यवस्था गरे पनि समाजमा सचेतनाको अभाव भयो भने त्यसको पूर्ण कार्यान्वयन कठिन छ । त्यही भएर महिला हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई व्यापक बनाउन पनि जरुरी छ । दोस्रो, महिला पुरुष भनेको एउटा रथका दुई पाङ्ग्रा हुन् । ती मध्ये एकको अभावमा अर्को गुड्न सम्भव रहँदैन । त्यही भएर महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषहरूको सहभागिता सुनिश्चित गर्दै लैजानुपर्छ भन्ने मेरो धारणा रहेको छ । र, तेस्रो भनेको महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने विषय पनि हो । विभेद र दुर्व्यवहारको एउटा जड परनिर्भरता पनि हो । महिलाको पर निर्भरतालाई अन्त्य गरेर उनीहरूलाई आर्थिक उपार्जनका निम्ति सबल बनाउँदै महिला सशक्तीकरण गर्न जरुरी छ । नीति तथा कार्यक्रममा नै महिलाका लागि विभिन्न किसिमका योजनाहरू बनाउँदै सरकारले कूल बजेटको करिब २० प्रतिशतको हाराहारीमा लैङ्गिक समानताका लागि बजेट छुट्टाउँदै आएको छ । तर त्यसको सही सदुपयोग नभइरहेको गुनासो आइरहेका छन् ।’

मन्त्री आचार्यले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले महिला सशक्तीकरणको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप