आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोर्चुगलका लागि अनुमोदित राजदूत नेपालमाथि सांसदहरूको प्रश्न : तपाईंमा के कूटनीतिक क्षमता छ ?

सोमबार, २८ जेठ २०८१, २१ : १९
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । शुक्रवार संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि सरकारद्वारा प्रस्तावित राजदूत सनिल नेपालमाथि संसदीय सुनुवाइ गरेको छ । अपराह्न संसद् सचिवालय सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकमा सुरुमा प्रस्तावित राजदूत नेपालमाथि उनी राजदूतका लागि योग्य छैनन् भनेर उजुरी गर्ने एक मात्र उजुरीकर्ता उज्जलकृष्ण श्रेष्ठलाई आफ्नो धारणा प्रस्तुत गर्न समय दिइएको थियो ।

उजुरीकर्ता श्रेष्ठले नेपाल  राजदूत नियुक्ति निर्देशिका २०७५ मा व्यवस्था भएको बमोजिम अयोग्य रहेको समिति समक्ष जिकिर गरेका थिए । उनको यो जिकिरलाई सांसदहरूले गम्भीरतापूर्वक नलिई हाँसोमा उडाएका थिए । 

उजुरीकर्ता श्रेष्ठले नेपाल नेपाली कांग्रेसका नेता शेखर कोइराला समर्थक र कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठनमा आबद्ध भएको आधारमा उनी राजदूतमा सिफारिस भएको र उनलाई कुनै कूटनीतिक ज्ञान नभएकोले राजदूतमा सिफारिस नगर्न आग्रह गरेका थिए । 

साथै श्रेष्ठले अहिलेसम्म दूतावास नखोलिएको पोर्चुगलमा कांग्रेसका नेताका ‘इन्ट्रेस’मा दूतावास खोल्न लागिएको र त्यसले देशलाई थप आर्थिक भार पर्ने बताए । उनले पोर्चुगलमा दूतावास खोल्ने कुरा परराष्ट्र मन्त्रीको जालसाँझीको काम भएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय सम्बन्धमा ज्ञान नभएको, कूटनीतिक क्षमता नभएको व्यक्तिलाई सरकारले राजदूतमा सिफारिस गरेकोले अस्वीकार गर्न सांसदहरूलाई आग्रह गरेका थिए । 

यस्तै समितिका सांसदहरूले पनि सनिल नेपालले समिति समक्ष  प्रस्तुत गरेको कार्य योजनामाथि विभिन्न प्रश्न उठाएका थिए । पहिलो पटक राजदूतावास स्थापना गरिएको देशमा कूटनीतिक क्षमता र अनुभव नभएका व्यक्तिलाई राजदूतका रूपमा पठाउन लागेपछि सांसदहरूले संशय व्यक्त गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता डोलप्रसाद अर्यालले नयाँ ठाउँमा राजदूतको भूमिकामा काम गर्नका लागि अर्को व्यक्तिसँग प्रतिस्पर्धाको आधारमा छानिएर जानुपर्ने बताए ।  उनले नयाँ ठाउँमा गएर नयाँ मान्छेले काम गर्न समस्या हुने बताउँदै आफूभन्दा अब्बल व्यक्तिसँग प्रतिस्पर्धा गरेर जान्छु भन्न किन सक्नुभएन भन्दै प्रश्न गरे । 

यस्तै सांसद प्रकाश अधिकारीले पोर्चुगलमा अव्यवस्थित रूपमा धेरै नेपाली कामदार रहेको बताउँदै उनीहरूलाई व्यवस्थित गर्न समस्या रहेको बताए ।  सांसद जीवन परियारले संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले ठुला–ठुला प्रतिबद्धता व्यक्त गर्ने तर कार्यान्वयन गर्न भने नसक्ने अवस्था रहेको बताए । 

उनले पोर्चुगलमा धेरै नेपाली अवैध कामदार रहेको, कृषि क्षेत्रमा नेपाली कामदार रहेको र कतिपय अलपत्र अवस्थामा रहेकोले उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा नेपालको कार्य योजना नआएको बताए । 

सांसद रमेशजंग रायमाझीले पोर्चुगलबाट रोनाल्डो नै नेपाल ल्याएर फुटबल प्रशिक्षण गराउने कार्य योजना राम्रो रहेको बताउँदै त्यो सम्भव हुन्छ त भन्दै प्रश्न गरे ।  कांग्रेस सांसद रमेश लेखकले पोर्चुगल नेपालका लागि श्रम गन्तव्य रहेको बताउँदै राजदूत भएर गएपछि त्यहाँको सरकारसँग श्रम सम्झौता मात्रै भए पनि गराउने पहल गर्न आग्रह गरे । 

एमाले सांसद ईश्वरी घर्तीले अनुमोदित राजदूत नेपाललाई तपाई अमुक पार्टीको कुनै पक्षको नेताको पछि लागेका आधारमा र नेविसंघको कार्यकर्ता भएको आधारमा राजदूतमा सिफारिस भएको आरोप छ । प्रस्ट पार्नुहोस् भन्दै प्रश्न गरिन् । 

यस्तै नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले आफूले केही देशको भ्रमण गर्ने क्रममा विदेशमा रहेका नेपाली राजदूतहरू काम गर्न असक्षम रहेको, केवल जागिरे, मोजमस्ति र घुमफिरमा व्यस्त हुने गरेको आफूले  पाएको बताए । 

उनले नेपाललाई नेपाल पर्यटन गन्तव्य रहेकोबारे पोर्चुगलमा जानकारी गराउने, त्यहाँ रहेका नेपाली व्यवसायी, कामदारका समस्या समाधान गर्न सक्षम हुनुपर्ने बताए ।  सांसद गिरीले नेपाललाई तत्काल, मध्यकालीन र दीर्घकालीन काम गर्ने योजना बनाउन आग्रह गर्दै आफूले बनाएका योजना पूरा नभए फिर्ता हुने प्रतिबद्धता व्यक्त गर्न समेत आग्रह गरे । 

संसदीय समितिबाट पोर्चुगलका लागि अनुमोदित राजदूत नेपालले आफूले प्रत्येक वर्ष नेपालमा कम्तीमा १० हजार पोर्चुगलका पर्यटक नेपाल भित्र्याउनका लागि पहल गर्ने बताए ।  उनले सांसदहरूले तपाईंमा के कूटनीतिक क्षमता छ भन्दै गरेको प्रश्नमा आफूले औपचारिक कूटनीतिक क्षेत्रमा काम गरेको नभए पनि ‘पब्लिक डिप्लोम्यासी’को क्षेत्रमा धेरै काम गरेको बताए । त्यो कस्तो कूटनीतिक क्षेत्रको काम थियो, उनले यसबारे के–के काम गरे त्यो भने खुलाएनन् । 

अनुमोदित राजदूत नेपालले पोर्चुगलमा आफू नेपाली राजदूत भएपछि कति नेपाली कुन अवस्थामा रहेका छन् त्यसको तथ्याङ्क संकलन गर्ने बताए । उनले नेपाल र पोर्चुगलबिच द्विपक्षीय सम्बन्ध सुरु भएको ४७ वर्ष भएको बताउँदै दुई देशको कूटनीतिक क्षमता अभिवृद्धिका लागि इमानदारीका साथ काम गर्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप